×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

काठमाडाैंमा आफ्नै घर हुँदाहुँदै पनि घरभाडा सुविधा लिन्छन् यी सा‌ंसदहरु

२९ मंसिर २०७५

काठमाडौँ , मंसिर २९

भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ ।

Advertisement
Advertisement

उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ । ‘ज्याठामा मेरो सगोलको घर छ । रक्षामन्त्री हुँदा सुरक्षाकर्मी राख्ने ठाउँ नभएपछि क्षेत्रपाटीस्थित सासूको घरमा बसें । सासूलाई अन्यत्र सार्नुपर्ने भएकाले मन्त्री हुँदादेखि भाडा लिइरहेको छु,’ उनले भने, ‘मैले सरकारबाट लिएको भाडा सासूलाई तिर्ने गरेको छु ।’

घरभाडा लिने सांसदको सूचीको २३५ नम्बरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाम छ । संविधानसभा अध्यक्ष र रूपान्तरित संसदको सभामुख हुँदा उनी बालुवाटारस्थित सरकारी निवासमा बसे । बालुवाटारस्थित रसियन दूतावासपछाडि घर भाडामा लिएर बसेका उनले केही समयपछि त्यही घर किने । अहिले पनि त्यहीं बस्छन् ।

इलाम–२ बाट निर्वाचित नेम्वाङले यसबारे भने, ‘सचिवालयले काठमाडौंमा घर छ कि छैन भन्ने फाराम भराएको थियो । बैंकबाट ऋण लिएर किनेको भनेर लेखेको छु । सचिवालयले के गर्‍यो, मलाई थाहा छैन । के भएको रहेछ म बुझ्छु ।’ राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो पनि घरभाडा लिने सांसदमा पर्छन् ।

स्वास्थ्यमन्त्री हुँदा २०६८ कात्तिक २८ मा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले काठमाडौंमा घर भएको उल्लेख गरेका थिए । धनुषा–३ बाट निर्वाचित उनले भने, ‘काठमाडौंमा मेरो घर छ तर पार्किङको समस्या छ ।’ संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा घरभाडा लिने सांसदको सूचीमा उनको नाम १७१ नम्बरमा छ । राजपाकै लक्ष्मणलाल कर्ण पनि घरभाडा लिनेमा पर्छन् ।

पर्सा क्षेत्र ४ बाट निर्वाचित उनको बाँसबारीमा अपार्टमेन्ट छ । तपाईं काठमाडौंमा भाडामा कि आफ्नै घरमा बस्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘बाँसबारीमा आफ्नै घर छ ।’

संसद्मा प्रतिनिधित्व गर्ने अर्काे ठूलो दल संघीय समाजवादी फोरमकी नेतृ सरिता गिरी पनि घरभाडा लिने सूचीमा छिन् । उनको विशालनगरमा घर छ ।

कांग्रेसका समानुपातिक सांसद उमेश श्रेष्ठको नाम भाडा लिनेको सूचीमा छ । उनी २०७० सालदेखि सांसद छन् । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जेल्सका सञ्चालक श्रेष्ठको विद्यालय परिसरमात्रै करिब ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ । विद्यालयलाई ट्रस्टमा लगेर सगरमाथा विश्वविद्यालय बनाउन लागिपरेका उनी झम्सीखेलस्थित आइडल मोडल स्कुलसँगैको घरमा बस्छन् ।

तपाईंले पनि घरभाडा लिइरहनुभएको रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘कसरी म भाडा लिन्छु, आफ्नो घरमा बस्ने मान्छे ।’ संसद् सचिवालयमा असोज महिनासम्मको पारिश्रमिक तथा तलबभत्ता बुझेको भर्पाइ विवरणको १५ नम्बरमाउल्लेख भएअनुसार उनी पनि डेरावाल सांसदमा पर्छन् ।

कांग्रेसकै समानुपातिक सांसद चित्रलेखा यादव मासिक घरभाडा बुझ्छिन् । पूर्वशिक्षामन्त्री यादव ललितपुर, भैंसीपाटीमा बस्छिन् । उनले शिक्षामन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ‘ललितपुरमा घर रहेको’ उल्लेख गरेकी छन् । उनले भनिन्, ‘मेरो आफ्नै भन्ने कि नभन्ने, छोरीलाई दिन बनाएको घर हो । म यहीं बस्छु ।’

नेकपा सांसद योगेश भट्टराईको अनामनगरमा घर छ । उनको नाम पनि घरभाडा लिनेको सूचीमा छ । भट्टराईले सचिवालयबाट भाडा नलिएको दाबी गरे । ‘मेरो काठमाडौंमा घर छ, यही विवरण मैले संसद् सचिवालयमा दिएको छु,’ उनले भने, ‘मैले घरभाडाबापत पैसा लिएको छैन ।’ संसद् सचिवालयको अभिलेखमा भने २०७५ असोज महिनासम्म घरभाडा लिने सांसदको सूचीमा भट्टराईको नाम १६१ नम्बरमा छ ।

कांग्रेसका समानुपातिक सांसद दिव्यमणि राजभण्डारीको काठमाडौंमा ‘नेवा भिल्ला’ छ । व्यापारीका रूपमा चिनिएका राजभण्डारीले तिहारअघि यही घरमा चियापानसमेत गरेका थिए । संसद् सचिवालयको विवरणमा उनको नाम घरभाडा लिने सांसदको सूचीमा छ ।

राजभण्डारीले भने, ‘संसद् सचिवालयले त्रुटि गर्‍यो होला, मैले बुझाएको विवरणमा काठमाडौंमा घर छ भनेर बुझाएको छु ।’ संसद् सचिवालयको विवरणअनुसार राजभण्डारीले २०७५ असोजसम्म नियमित रूपमा घरभाडा लिएको देखिन्छ ।

भाडा लिने सूचीमा नेकपाकी पम्फा भुसालको नाम पनि छ । ललितपुरको कुसुन्तीमा उनको घर छ । तपाईंको राजधानीमा घर छ/छैन भनेर सोधिएकोमा उनले भनिन्, ‘यसअघि सानेपामा बस्थें, अहिले कुसुन्तीमा आफ्नै घरमा बस्छु ।’

उदयपुर–१ बाट निर्वाचित कांग्रेस नेता नारायण खडकाले सहरी विकासमन्त्री हुँदा २०७१ पुस ५ मा सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौं, भद्रकालीमा उनको घर छ । संसद् सचिवालयको अभिलेखअनुसार २०७५ असोजसम्म उनले पनि घर नभएको भनेर मासिक घरभाडा लिने गरेका छन् ।

सचिवालयका अनुसार नेकपाकी गोमा देवकोटा, नवीना लामा, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, रामेश्वर राय यादव पनि घरभाडा लिनेको सूचीमा पर्छन् । उनीहरूमध्ये देवकोटा र लामाको पेप्सीकोलामा घर छ । सुनुवार र यादवको इमाडोलमा, झाँक्रीको शंखमूलमा घर छ ।

यसैगरी कांग्रेसका कर्मा घले, रामबहादुर बिष्ट, बहादुरसिंह लामा काठमाडौंमा घर भए पनि नियमित घरभाडा लिनेमा पर्छन् । देवकोटा, लामा, झाँक्री नेकपाबाट बहादुरसिंह लामा, कर्मा घले र बिष्ट कांग्रेसको सिफारिसमा समानुपातिक सांसद हुन् । सुनुवार ओखलढुंगाबाट र रामेश्वर राय यादव सर्लाहीबाट निर्वाचित हुन् ।

घरभाडा लिएको सम्बन्धमा झाँक्रीले भनिन्, ‘श्रीमान् र मेरो नाममा काठमाडौंमा घर छैन । हामी सगोलमा बस्छौं । यो पनि कानुनविपरीत हो भने म पैसा फिर्ता गर्न तयार छु ।’

सुनुवारले दुई महिनाअघि मात्रै आफ्नो घरमा सरेको बताए । ‘संसद् सुरु हुँदा कीर्तिपुरमा भाडाको घरमा बसेको थिएँ’, उनले भने, ‘दुई महिनादेखि आफ्नै घरमा सरेको छु । संसद् अधिवेशन अन्त्य भएपछि निर्वाचन क्षेत्रमा व्यस्त भएकाले घरमा सरेको जानकारी गराउन पाएको छैन । गाउँबाट फर्केलगत्तै सचिवालयमा जानकारी गराउँछु ।’

हुम्ला १ बाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामाको काठमाडौंमा घर छ । उनले पनि २०७५ असोजसम्म संसद् सचिवालयबाट घरभाडा लिइरहेको विवरणबाट देखिन्छ । काठमाडौं, सुकेधारामा घर भएका नेकपाका दलबहादुर रानाले घरभाडा लिइरहेको देखिन्छ । उनी पाल्पा क्षेत्र १ बाट निर्वाचित हुन् । दोलखाका नेकपा सांसद पार्वत गुरुङको वसुन्धरामा घर छ । उनको नाम पनि मासिक घरभाडा लिने सांसदकोसूचीमा छ ।

अर्का उदाहरण हुन्, नेकपाकै समानुपातिक सांसद मोतीलाल दुगड । भाडामा बस्ने सांसदलाई आवासको आवश्यकता किन छ भन्नेबारे उनले संसद्मै भनेका थिए, ‘मेरो त नक्सालमा घर छ । जो माननीय भाडामा बस्नुहुन्छ । उहाँहरूका धेरै पीडा छन् । त्यसैले सांसद आवास जरुरी देख्छु ।’

उद्योगपतिका रूपमा चिनिएका उनले मासिक घरभाडा लिइरहेको सचिवालयको विवरणबाट देखिन्छ । यसबारे सोध्दा उनले भने, ‘म त विराटनगरको मान्छे हुँ, भाडामा बस्छु । सबलाई थाहा छ । नक्सालमा त कार्यालय मात्रै हो ।’

मासिक घरभाडा लिनेमा कांग्रेस सांसद अमरेशकुमार सिंह पनि छन् । उनको भैंसेपाटीमा घर छ । उनले भने, ‘सगोलको घर छ । यहीं बस्छु, ।’ कांग्रेस सांसद किशोरसिंह राठोरको बालुवाटारमा घर छ । उनले मासिक घरभाडा लिइरहेको सचिवालयको विवरणबाट देखिन्छ ।

संसद्मा सरकारको समेत चर्को विरोध गर्ने मकवानपुर–२ बाट निर्वाचितनेकपा सांसद विरोध खतिवडाले ललितपुरमा घर रहेको बताएका थिए । सचिवालयको सूचीअनुसार भने उनी मासिकघरभाडा बुझ्छन् ।

हामीले संसद् सचिवालयबाट मासिक घरभाडा र घर मर्मत खर्च लिने सांसदको विवरण प्राप्त गरेको दुई सातापछि संसद् सचिवालयका सूचना अधिकारी केशव अर्यालले ‘सूचनाको हकअनुसार उपलब्ध गराएको विवरणमा केही हेरफेर गर्नुपर्ने देखिएको’ बताए । उनको भनाइमा ‘कांग्रेसका कर्मा घले, नारायण खडका, दिव्यमणि राजभण्डारी र बहादुरसिंह लामाको राजधानीमा घर भएकाले पैसा फिर्ता गर्ने प्रक्रिया अघिबढेको छ ।’

अर्यालका अनुसार नेकपाका सुवासचन्द्र नेम्वाङ, पार्वत गुरुङ, गोमा देवकोटा, फोरमकी सरिता गिरी र स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि यसअघि लिएको घरभाडा फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् । तर, सचिवालयको अर्को एक सूत्रको भनाइमा ‘सूचनाको हक प्रयोग गरेर २०७५ असोजसम्मको विवरण लिएपछि बदनाम हुने ठानेर सांसदहरू विवरण सच्याउन निवेदन दिन थालेका हुन् ।’

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा भन्छन्, ‘यो सूचनाको हकको तागत हो । यसले मुलुकलाई विधिको शासनको बाटोमा हिँडाउन मद्दत गरेको छ ।’

घरभाडा लिने सभापतिहरू

लेखा समितिका सभापति भरत शाहले भदौ २० को बैठकमै ‘मेरो घर गुहयेश्वरीमा पर्छ । एयरपोर्टबाट घरसम्मको दूरी ३ किलोमिटर छ । ट्याक्सीले ७०० रुपैयाँ भाडा लिन्छ’ भन्ने मन्तव्य राखेका थिए ।

विशेष समयमा उनले दिएको मन्तव्य अहिले पनि संसदको रेकर्डमा छ । संसद् सचिवालयको विवरणले चाहिँ शाहले घरभाडा लिइरहेको देखाउँछ । उनले भने, ‘पुरानो घर बेचें । नयाँ बन्दै छ । अहिले भाडामा छु ।’

राष्ट्रिय सभा विधायन समितिका सभापति परशुराम मेघी गुरुङको घर भक्तपुर चुनदेवीमा छ । घरभाडा लिनेको सूचीमा उनको पनि नाम छ । मंसिर २३ मा उनले भने, ‘यसबारे मलाई केही थाहा छैन, के भएको रहेछ बुझ्छु ।’

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्ट भैंसेपाटीस्थित छोराको घरमा बस्छिन् । उनले भनिन्, ‘कान्छो छोराले बनाएको घरमा बस्ने गरेकी छु ।’ सचिवालयको सूचीमा उनले पनि मासिक रूपमा घरभाडा लिएको देखिन्छ । समितिका सभापतिले घरभाडाबापत मासिक २५ हजार ६०८ रुपैयाँ पाउँछन् ।

आवासमा मासिक ५० लाख

संसद् सचिवालयका अनुसार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) का ३०८ जनाले आवास सुविधा लिने गरेका छन् । यसमध्ये ७९ जनाले ‘घर भएको’ उल्लेख गरेर मर्मत खर्चबापत मासिक ९ हजार लिने गरेका छन् ।

२२९ जनाले घरभाडाबापत मासिक १८ हजार लिन्छन् । विवरणबाट धेरै सांसद राजधानीमा डेरामा बस्ने गरेको देखिन्छ । सचिवालयका अनुसार आवास खर्चबापत मात्रै मासिक ४९ लाख २६ हजार ५९३ रुपैयाँ खर्च हुन्छ ।

संसदका पदाधिकारी र सदस्यलाई आवासको निमित्त सरकारका तर्फबाट सरकारी घरको बन्दोबस्त गरिने र घरको बन्दोबस्त नभएसम्म काठमाडौं उपत्यकामा घर नभएका सदस्यलाई मासिक आवास सुविधा दिइने संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा उल्लेख छ । ऐनको दफा ६ को उपदफा २ मा काठमाडौं उपत्यकामा घर हुने पदाधिकारी वा सदस्यलाई भने आवास मर्मत र सम्भारबापत आधा रकम दिइने उल्लेख छ ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले काठमाडौंमा घर नभएकालाई मात्रै घरभाडा दिने कानुनी व्यवस्था रहेको बताए । ‘घर भएका सांसदले सायद सुविधा लिनुभएको छैन होला,’ उनले भने, ‘कसैले लिएको रहेछ भने हामी विश्लेषण गर्छौं ।’

प्रतिनिधिसभामा विपक्षी दलका नेता, सत्ता पक्षका नेता, प्रमुख सचेतकलाई घरभाडाबापत २५ हजार ६०८ रुपैयाँ दिने व्यवस्था छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षका सचेतक र समितिका सभापतिलाई भने मासिक २४ हजार २६८ रुपैयाँ घरभाडा उपलब्ध गराइन्छ । सांसदले चाहिँ घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने कानुनी व्यवस्था छ ।

सूचना पाउनै चार महिना

सांसद भएपछि भेटेसम्मको सुविधा उपभोग गर्ने प्रवृत्तिमा परिवर्तन आयो/आएन भनेर थाहा पाउन हामीले पाँच महिनाअघि संसद् सचिवालयमा संघीय संसदका सांसदले पाउने सेवा–सुविधाको विवरण उपलब्ध गराइदिन अनुरोध गरेका थियौं । तर चार महिनासम्म पनि सचिवालयले विवरण दिएन ।

हामीले बाध्य भएर सूचनाको हक प्रयोग गर्‍यौं । २०७५ असार ६ गते पहिलोपल्ट निवेदन दर्ता गराएकोमा पटक–पटक पुनरावेदन गर्दै राष्ट्रिय सूचना आयोगको निर्देशनपछि सचिवालयले बल्ल २०७५ कात्तिक १३ मा संघीय संसदका पदाधिकारी तथा सदस्यले असोजमा पारिश्रमिक तथा भत्ता बुझेको भर्पाइ विवरण उपलब्ध गरायो ।

राजधानीमा घर भएका ३० जना सांसदले संसद् सचिवालयबाट घर नभएका सांसदले मात्रै पाउने घरभाडाको सुविधा महिनैपिच्छे लिइरहेका छन् । यसरी सुविधा लिनेमा उद्योगी, व्यापारी र दलका चर्चित नेतासम्म छन् ।

सचिवालयले घरभाडाबापतको रकम हरेक महिना पारिश्रमिकसँगै उनीहरूको बैंक खातामा पठाइदिने गर्छ । सचिवालयको प्रक्रियाअनुसार सांसदले राजधानीमा घर भए/नभएको उल्लेख गरेपछि आवास सुविधा उपलब्ध गराउने/नगराउने निर्णय हुन्छ । यसका लागि सचिवालयले उपलब्ध गराएको फाराममा घर भए/नभएकोखुलाउनुपर्ने हुन्छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनअनुसार काठमाडौंमा घर नहुने सांसदले घरभाडाबापत मासिक १८ हजार पाउँछन् । घर हुनेले पनि मर्मत खर्चबापत मासिक ९ हजार पाउँछन् । सचिवालयका एक कर्मचारीले भने, ‘घरभाडा लिने कतिपय सांसदको घरमै म पुगेको छु तर सुविधा लिन उहाँहरूले ढाँटिरहनुभएको छ ।’

घर भएर पनि भाडाबापत रकम लिनेमा नेकपाका १३, कांग्रेसका १२, राजपाका ३, फोरमका १ र स्वतन्त्र सांसद १ जना छन् । फोनमा सोध्दा यी ३० जनाले काठमाडौंमा आफ्नो घर भएको जानकारी दिए । घर भए पनि नभएको भन्दै भाडा लिनेमा राष्ट्रिय सभामा दुई जना छन् ।

मन्त्री क्वार्टरमा बसेर पनि घरभाडा

सरकारी निवासमा बस्ने मन्त्रीका श्रीमती सांसद पनि छन् । उनीहरू पनि घरभाडा लिने सूचीमा छन् । वर्षमान पुन: जलस्रोतमन्त्री हुन् ।

पूर्वसभामुख समेत रहेकी उनकी श्रीमती ओनसरी घर्ती नेकपाकी सांसद हुन् । श्रीमान्सँगै सरकारी निवासमा बसे पनि उनले संसद् सचिवालयबाट घरभाडा लिइरहेको अभिलेखबाट देखिन्छ ।

त्यस्तै वन तथा वातावरणमन्त्री शक्ति बस्नेत मन्त्रीक्वार्टर पुल्चोकमा बस्छन् । उनकी श्रीमती सत्या पहाडीले मासिक रूपमा घरभाडा लिने गरेको विवरणबाट देखिन्छ ।

ओनसरी र पहाडी दुवै प्रतिनिधिसभा सांसद हुन् । संसद् सचिवालयको अभिलेखअनुसार नेपालका धेरै नेताहरू भाडाको घरमा बस्छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका विजयकुमार गच्छदार, प्रदीप गिरी, राजपाका महन्थ ठाकुर, महेन्द्रराय यादव भाडाको घरमा बसिरहेका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, हरिबोल गजुरेल, राधा ज्ञवाली, मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, खगराज अधिकारी, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह घर नहुने सूचीमा पर्छन् ।

नेकपाका प्रमुख सचेतक गुरुङ र उनकी श्रीमती यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभा सांसद हुन् । गुरुङ लमजुङबाट प्रत्यक्ष निर्वाचित हुन् भने सुवेदी समानुपातिक । उनीहरू दुवैले संसद्बाट मासिक घरभाडा लिइरहेका छन् । गुरुङ सत्तापक्षको प्रमुख सचेतक भएकाले मासिक २५ हजार ६०८ र सुवेदी सांसद भएकाले मासिक १८ हजार रुपैयाँ घरभाडा लिन्छन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, मोहम्मद आफ्ताव आलम, सीतादेवी यादव, नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव भाडाको घरमा बस्ने सांसदमा पर्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि भाडाबापत रकम लिनेको सूचीमा छिन् ।

Advertisement

(खोज पत्रकारिता केन्द्र)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top