विराटनगर, पुस ५
मोरङ ब्यापार संघको आयोजनामा शुक्रबार(भोलि)देखि विराटनगरमा हुने विराट ट्रेड एक्स्पो २०१८ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो तथा अन्तराष्ट्रिय स्तरको ब्यापार मेलाका रुपमा रहेको विराट ट्रेड एक्स्पोको शुक्रबार ११ बजे मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन हुने आयोजकले आज मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका व्यवसाय र पहाडी जिल्लाका खनिज जन्य, कृषि जन्य र अन्य उत्पादनहरु समेत गरी २५० स्टलहरु रहने मेला संयोजक अनुपम राठीले जानकारी दिए । जसमा अटोमोबाईल्स, आईटी, बैंक, निर्माण सामाग्री, कृषि तथा हस्तकला, तयारी पोशाक, जुत्ता चप्पल, स्वास्थ्य, पर्यटन तथा अन्य दैनिक उपभाग्य सामाग्रीहरु रहने छन् ।
एक्स्पोमा बंगलादेश, पाकिस्तान, भारत र चीनका वस्तुहरु सहित २५ वटा अन्तराष्ट्रिय स्टलहरु रहने छन् । एक्स्पोमा मेलाको सजावट अति उत्कृष्ट रहेको राठीले बताएका छन् । उनले भने ‘अक्टानोर्म विधिका विशिष्ट खालका स्टलहरुले सजाईने आयोजकले जनाएको छ । कलाकृतियुक्त ६५ पिट लम्बाई र ३० फिट उचाईको कमलको फुल आकृतिको प्रवेशद्धार निर्माण गरिएको छ भने विभिन्न खालका डाईनोसरसहित डाईनो वर्डपनि निर्माण गरिएको छ ।’
एक्स्पोमा प्रदेश १ को पर्यटन प्रवद्धनका लागि हेलिकप्टरबाट विश्वकै पाँच उच्च हिमशिखरहरु अवलोकन गराईने संयोजक राठीले जानकारी दिए । एक्स्पोमा मनोरञ्जनका लागि उत्कृष्ट फुड कोर्ट, आकर्षक बाल उद्यान, सेल्फी जोन, राष्ट्रिय, अन्तराष्ट्रिय एवम् स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिने भएको छ । इन्दिरा जोशी, कमल खत्री, सन्दीप क्षेत्री, मेलिना राई लगायतका राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ भने प्रिन्स डान्स ग्रुप, ग्लोडिएटर्स, पवन श्रेया, पपया कटेन, वाईल्ड रिपर्स, जादुगर कुमार जस्ता भारतीय कलाकाहरु समावेश गरिएकोे राठीले जानकारी दिए ।मेलामा विराटनगरमै पहिलोपल्ट एल.ई.डी डान्स गराईने भएको छ ।
एक्स्पो स्थलमा उच्च प्रविधियुक्त एल.ई.डी स्क्रिन जडित आकर्षक स्टेज, लाईन एरे साउण्ड सिस्टम जडान गरिएको छ । मेलामा सुरक्षा ब्यवस्था चुस्त रहने मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले पत्रकार सम्मलेनमा बताए । उनले भने‘जिल्ला प्रहरी कार्यालयको पूर्ण सहयोग रहेको छ । विगतमा पनि मेला भएकै छ, विगतमा विराटनगरका जनाताहरुले सौहार्दपुर्ण वातावरणमा काम गरेका छन् । ४२ जना सेक्युरिटी गार्ड खटाईएको छ १ सय वटा सिसिटिभी क्यामरा जडान गरिएको छ । ती सबै कुराहरु पुरा भएपछि सुरक्षा चुस्त हुन्छ ।’
मेला अवधिभर स्टलहरुको कारोबार जोड्दा करिब २० करोड नाघ्ने आयोजकले जनाएको छ । एक्स्पोमा प्रवेशका लागि टिकट दर रु.६० रहेको छ । मोरङ ब्यापार संघ आयोजक रहेको एक्स्पोमा प्रदेश नं १ का सम्पूर्ण मन्त्रालयहरु, कृषि ब्यबस्थापन तथा प्रर्वद्धन कार्यक्रम, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ, विराटनगर महानगरपालिका तथा उद्योग संगठन मोरङले प्रवद्धन एवम् सहयोग गरिरहेको जनाईएको छ । एक्पोको मुख्य प्रायोजकको रुपमा रमपम तयारी चाउचाउ रहेको छ । पुस १४ गतेसम्म चल्ने सो मेला बिहान १० बजेदखि बेलुका ७ बजेसम्म खुल्ला रहने आयोजकले जनाएको छ ।