विराटनगर,पुस ६
विराटनगर स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले आफनो तेस्रो बार्षिक उत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । बार्षिक उत्सवका अवसरमा यही पुष ८ गतेदेखि ३ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने आज अस्पताल हातामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बार्षिकोत्सवका अवसरमा पुष ८ देखि निःशुल्क हाडजोर्नी एवम् नशा शिविर गर्ने जनाएको छ । यस्तै १० गते रक्तदान तथा बार्षिकोत्सव कार्यक्रम गर्ने अस्पतालका संचालक रुपेश अधिकारीले जानकारी दिए । सोही अवसरमा संचालक अधिकारीले पत्रकारलाई शत प्रतिशत र पत्रकारका परिवारलाई सबै सेवामा ५० प्रतिशत छुट दिइने जानकारी दिए ।
अस्पतालले ५ सय व्यक्तिको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गर्ने जनाएको छ । काठमाडौंबाट आएको ६ जनाको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
रगतमा सुगर जाँच, युरिक एसिड जाँच निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । वार्षिक उत्सवका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई २० प्रतिशत छुट दिनुका साथै दुर्गम क्षेत्र तथा ज्येष्ठ नागरिकहरुलाई विशेष छुट दिने अधिकारीले जानकारी दिए ।
अस्पतालले प्यारालाइसि (पक्षघात) जस्तै–मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएको, हड्डी खिइएको, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ ।