पोखराले थेग्न सक्छ दैनिक ४० हजार पर्यटक, नयाँ वर्षका लागि यस्तो छ तयारी

८ पुस ७५, सोमबार

पोखरा,पुस ८

नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ ।

विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङ्ग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ ।

Advertisement

यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो याममा विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा पोखरा आउने गरेको पश्चिमाञ्चल होटेल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए ।

“अङ्ग्रेजी नयाँ वर्षमा पोखरा जानुपर्छ भन्ने सोचका साथ देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्,” उनले भने, “पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरा नै सबैको रोजाइ बनिसकेको छ ।”

Advertisement

अध्यक्ष पराजुलीका अनुसार पर्यटकलाई लक्षित गरी यहाँ होटेलको सङ्ख्या वृद्धिका साथै अन्य पूर्वाधार निर्माणले गति लिइरहेको छ । हालसम्म यहाँका होटल व्यवसायमा रू एक खर्ब भन्दा बढी लगानी भइसकेको छ । पोखरा उपत्यकामा मात्र प्रतिदिन २५ हजार पर्यटक बस्नसक्ने बताउँदै उनले आसपासका सराङकोट, बेगनास, पुम्दी, धम्पुसलगायत स्थानसमेत गरी दैनिक ४० हजार पर्यटक बस्नसक्ने क्षमता रहेको जानकारी दिए ।

अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी अग्रिम बुकिङ श्ुरु भइसकेको र साना तथा मझौला होटेलमा करिव ३० प्रतिशत बुकिङ भइसकेको छ । पर्यटन व्यवसायीहरूका अनुसार अङ्ग्रेजी नयाँ वर्षमा यहाँका झण्डै ९० प्रतिशत भन्दा बढी होटेलका कोठा बुकिङ हुनेगरेको छ ।

होटलमा बुकिङको क्रम शुरु भइसकेको बताउँने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले यस अवसरमा सम्पर्कमा आएका पर्यटकले साविककै दरमा होटेलका कोठा बुकिङ गरिरहेको बताए ।“अङ्ग्रेजी नयाँ वर्षमा आउने पर्यटकले सामान्यतः तीन दिनका लागि कोठा बुकिङ गर्ने गरेका छन्,” उनले भने, “पोखरामा होटल थप हुनाका साथै पूर्वाधारसमेत विस्तार भएका कारण कोठाको अभाव हुने अवस्था भने छैन ।”

त्यसअवसरमा हुने सडक महोत्सवका साथै आयोजना गरिने अन्य पर्यटकीय गतिविधि, साहसिक पर्यटन, दृश्यावलोकनजस्ता कार्यक्रमले पोखरा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

पर्यटकल पोखरा आसपासका विन्ध्यवासिनी, गुप्तेश्वर महादेव मन्दिर, र विश्व शान्ति स्तुप दर्शन गर्नाका साथै पुम्दीकोट, सारङ्कोटलगायत स्थानबाट पोखरासहित हिमाली शृङ्खला अवलोकन गर्न रुचाउँछन् ।

त्यस्तै महेन्द्र गुफा, चमेरे गुफा आदिको अवलोकन, फेवा, बेगनास, रुपालगायत तालमा डुङ्गा खियाएर पनि पर्यटकले मनोरन्जन लिने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आउने पर्यटकले सामान्यतः डिसेम्बर ३० देखि तीन÷चार दिनसम्म पोखरामा बिताउने गरेको नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका द्वितीय उपाध्यक्ष एवं होटेल एशियाका सञ्चालक धर्म पन्थीले बताए ।

होटेल एशियामा डिसेम्बर ३० र ३१ का लागि ५० प्रतिशत कोठा बुकिङ भइसकेको जानकारी दिँदै उनले अङ्ग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पोखेरेली पर्यटकको स्वागतको पर्खाइमा रहेको बताए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top