प्रदेश १ को सडक सञ्जालको विस्तारमा सहयोग गर्न सेना तयार

विराटनगर, पुस १६
सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले सडक सञ्जालको विस्तारका लागि नेपाली सेनाको सहयोग माग गरेमा आफूहरू सहयोगका लागि तयार रहेको बताएका छन् ।

सोमबार १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाटका क्रममा थापाले प्रदेश सरकारले सडक सञ्जालको लागि नेपाली सेनाको सहयोग अवश्यक ठानेमा आफूहरु सहयोग गर्न तयार रहेको बताएका हुन् ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचनापछि प्रदेशको शान्ति सुरक्षालगायतका बिषयमा जिज्ञासा राखेका थिए ।

मुलुक संघीय संरचनामा गएपछि प्रधान सेनपातिले प्रदेश प्रमुखसँग भेटघाट गरेको यो पहिलो पटक हो । प्रदेश प्रमुख तुम्बाहाडले प्रदेश नम्बर १ को पर्यटन , जलविद्युत , यूवा स्वरोजगार , प्राकृतिक प्रकोप , औधोगिकरण , राष्ट्रिय सेवा दल र शान्ति सुरक्षामा नेपाली सेनाको भूमिका बारेमा जानकारी लिएको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए ।

प्रधानसेनापति थापाले आर्थिक बिकासमा सेनाको जनसहभागिता, नागरिक सैनिक सम्वन्धमा विस्तार, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नेपाली सेनाले पुर्याउदै आएको भूमिका र प्राकृतिक प्रकोपको बेला सेनाले गर्ने सहयोगका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सेनापति थापाले सोमबारै प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थसँग पनि जनकपुर पुगेर मेटवार्ता गरेका थिए ।