उर्लाबारी, पुस १४
मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ ।
पहिलो पटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा स्थानीयवासी दंग परेका छन् । स्थानीयवासीले सोलार मिनीग्रिड निर्माण उपभोक्ता समिति गठन गरेर सोलारबाट बिजुली उत्पादन गर्न थालेका हुन् ।
समितिका अध्यक्ष पर्वत राईका अनुसार सोलारबाट ३० किलोवाट बिजुली उत्पादन गरेर उपभोक्तालाई वितरण गरिएको छ । राईका अनुसार एक करोड ६० लाख रुपैयाँको लागतमा सोलारबाट बिजुली उत्पादन भएको हो ।
विद्युत उत्पादनका लागि एशियाली विकास बैंक (एडिबी)को ९० प्रतिशत, उपभोक्ता, वडा कार्यालय र जिल्ला समन्वय समितिको १० प्रतिशत लगानी लागेको उनको भनाइ छ ।
बिजुलीबाट ६५ परिवार लाभान्वित भएका छन् । त्यसबाहेक विद्यालय, वडा कार्यालय, तीनवटा सहकारी, स्वास्थ्य चौकी समेतमा विद्युत सेवा पुर्याइएको छ । राईका अनुसार सोलार प्यानलबाट ब्याट्रीमा पुगेको पावरलाई इन्भर्टरले एसी (अल्टरनेटिभ करेन्ट) बनाएर प्रवाह गर्छ ।
रासस