एजेन्सी,माघ ८
इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले किएभालमई ३–० को सहज जित दर्ता गर्यो ।
युभेन्टसले खेलको १३ औं मिनेटमो डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर पारे । लिभरपुलबाट युभेन्ट्स गए यता उनको यो क्लबका लागि पहिलो लिग गोल थियो ।
युभेन्ट्सले दोस्रो हाफमा अग्रता बढाउने थुप्रै अवसर पाएपनि सदुपयोग हुन सकेन । खेलको ८२ औं मिनेटमा युभेन्ट्सले जित सुनिश्चित गर्यो । फेडेरिको बर्नार्डेसकीको फ्रिकिकमा ड्यानीएले रुगानीले गोल गर्दै ३–० को अग्रता दिलाए ।
क्रिस्टियानो रोनाल्डोको लागि भने दिन बिर्सनलायक रहयो । उनी थुप्रै गोल गर्ने मौकामा चुकेका थिए । किएभोका मातिया बानिले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई गोलरक्षक स्टेफनो सोरेन्टिनोले बचाएका थिए ।
यस जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको नेपोलीको २० खेलमा ४७ अंक छ । २० खेलमा युभेले १८ जित र २ बराबरीसँगै ५६ अंक जोडेको छ ।