राष्ट्रिय शहीद सप्ताह सुरु, माघ १६ मा प्रदेश ३ सरकारको सार्वजनिक विदा

९ माघ ७५, बिहीबार

बिहिबार, १० माघ
प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ ।

Advertisement

काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । यसैबीच प्रदेश नम्बर ३ को सरकारले माघ १६ गते सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने निर्णय गरेको हो ।

यसअघि यो विदा कटौती गरिएको थियो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए । सप्ताहको पहिलो दिन बिहीबार टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisement

यसैगरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । माघ १५ गते मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ । माघ १६ गते बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको महानगरपालिकाका अधिकृत धनपति सापकोटाले जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisement

यसैगरी दिउँसो लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top