दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का

दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का

कञ्चनपुर ,माघ १०

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ ।

स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ ।

भारतीय पक्षले बुधबारदेखि सीमा क्षेत्रमा डोजरको प्रयोग गरी डिल र नाली बनाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय सञ्चारकर्मी दीपेन्द्र बस्नेतका अनुसार भारतीय पक्षले दशगजा क्षेत्रको झण्डै ६० मिटरभन्दा बढी क्षेत्रमा नाली र माटोको डिल बनाएको छ ।

नेपाल पक्षसँग कुनै पनि सहमति नलिईकन भारतीय पक्षले नाली र डिल बनाउन थालेपछि अर्को आदेश नहुँदासम्मका लागि रोक्न लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

‘अहिले डिल र नाली बनाउने कार्य रोक्न लगाएका छौँ,’ उनले भने । भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको डिलबारे बुझ्नका लागि प्रजिअ र सुरक्षा निकायको टोली त्यसतर्फ गएको उनले जानकारी दिए ।

सीमामा रहेको फोहर र छाडा चौपाया भारतीय संरक्षित वन दुधुवा क्षेत्रमा नजाओस् भनेर डिल बनाउन थालेको भारतीय पक्षले जनाएको छ । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.