एजेन्सी,माघ १८
कोपा डेल रे फुटबल अन्तर्गत फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ ।
जिरोनाको मैदानमा बिहीबार राति भएको खेलमा रियलले समग्रमा ७–३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।रियलले पहिलो लेगमा ४–२ को जित निकालेको थियो । रियलका लागि अर्को गोल मार्कोस लोरेन्टेले गरे । जिरोनाका पेड्रो पोर्रोले एक गोल फर्काए ।
रियलले खेलको २७औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता बनाएको थियो । बेन्जेमाले ड्यानियल कार्भाहलको पासलाई गोलमा परिणत गरेका थिए । ४३औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले ब्राजिली युवा खेलाडी भिनिसियस जुनियरको पासलाई गोलमा परिणत गरेका थिए ।
७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्रोले गोल गर्दै खेललाई २–१ मा ल्याए । ७६औं मिनेटमा मार्कोस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियललाई ३–१ को जित दिलाए ।
यससँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । अब रियलले रियल बेटिससँग खेल्नेछ । अर्को सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।