एजेन्सी, माघ १९
कतारले जापानलाई ३– १गोल अन्तरले हराउँदै पहिलो पटक एसियन कप फुटबलको उपाधि उचालेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा जारी खेलमा १२ औं मिनेटमा कतारले जापानविरुद्ध सुरुवाति अग्रता बनाएको थियो । अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै अग्रता दोब्बर पारे ।
जापानका लागि खेलको ६९औँ मिनेटमा ताकुमी मिनामोनोले एक गोल गरे । त्यस्तै खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अक्रम हसन अफिफले कतारको अग्रता ३–१ पुर्याएका थिए । सन २०२२ को विश्वकप आयोजक मुलुक कतार पहिलो पटक फाइनलमा पुगेको हो । सेमिफाइनलमा घरेलु टोली यूएईलाई ४–० गोलले हराएर कतारले सनसनी मच्चाएको थियो ।
यता पाँचौँपल्ट एसियन कपको उपाधि जितेर कीर्तिमान विस्तार गर्ने जापानको चाहनामा कतारले ब्रेक लगाइदिएको छ । सन २०११ मा चौथो पटक उपाधि जितेको जापान अहिलेसम्म फाइनलमा पराजित भएको थिएन । विश्वकपबाट बाहिरिएपछि जापान पछिल्लो ११ खेलमा पराजित भएको थिएन ।
२२ वर्षीय अलीले जिते गोल्डेन बुट
एसियन कपको कपको इतिहासमा एउटै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएर कतारका २२ वर्षीय अलमोइज अलीले गोल्डेन बुट जितेका छन् । उनले यस संस्करणमा ९ गोल गरे । उनले इरानका लेजेण्ड अली दाइले बनाएको कीर्तिमान तोडे । अली दाइले सन १९९६ मा एसियन कपको एउटै संस्करणमा ८ गोल गरेका थिए ।