https://www.facebook.com/nepaltimesnews/videos/398071684277689/?t=1
विराटनगर, माघ १९
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महागनरपालिकामा रहेका वारुणयन्त्रको अवस्था लथालिङ्ग रहेको पाईएको छ । आगलागी नियन्त्रणका लागि आकस्मिक रुपमा प्रयोग हुने महानगरपालिका भित्रका वारुणयन्त्रको व्यवस्थापन फितलो रहेको पाईएको हो ।
विराटनगर– ४ स्थित महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा हाल ५ हजार लिटर क्षमताका दुई वटामात्र दमकल सञ्चालनमा रहेका छन् । तर त्यसमध्ये एउटा राम्रो अवस्थामा रहेको छ भने अर्को बिग्रि रहने गरेको छ ।
वारुणयन्त्र कार्यालयमा रहेका ६ वटा दमकलमध्ये ४ वटा बिग्रिएका छन् जसमा २ वटामात्र मर्मत भई सञ्चालनमा आउन सक्ने अवस्थामा रहेका छन् । तर, ति दमकलहरुको मर्मतका लागि महानगरको ध्यान जान सकेको छैन । विराटनगरमा रहेका दमकलहरु दैनिक सरदर एक स्थानमाभएको आगलागीमा गईरहेका हुन्छन् । तर एकैपटक अन्य ठाउँमा आगलागी हुँदा तथा आगलागीमा थप दमकलको आवश्यकता परेमा दुहवी, इटहरी तथा रंगेलीलगायतमा ठाउँबाट वारुणयन्त्र ल्याउनुपर्ने अवस्था रहेको छ ।
गत पुस १९ गतेपनि एउटा यस्तै घटना घटेको थियो विराटनगर–४ मा स्थानीय उर्मिला दासको घरमा आगलागी भएपछि गएका दुई वटा वारुणयन्त्र मध्ये एउटा बिग्रिएर आगो नियन्त्रण नगरी फर्किएको थियो । सो घटनामा इटहरीबाट थप वारुणयन्त्र मगाएर आगलागी नियन्त्रण गरिएको थियो। विराटनगर महानगरपालिकाभित्रै दैनिक रुपमा आगलागीका घटना हुने गरेको भन्दै महानगरमा थप वारुणयन्त्र आवश्यक भएको विराटनगर वारुणयन्त्र कार्यालयका इन्चार्ज सुभाष कुँवरले बताए ।
उनले भने ‘हामी सँग अहिले २ वटा दमकल मात्र चालु अवसथामा छन्, त्यसमा पनि एउटाको त भरै छैन बारम्बार बिग्री रहन्छ । अहिले अब हावाहुरिको मौसम नजिकिँदो छ दैनिक जसो आगलागीका घटना भईरहन्छन् । यति दमकलले सेवा दिन हामीलाई अप्ठ्यारो परिरहेको छ ।’
महानगरपालिकामा दमकलको अवस्थाबारे विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने दमकलको संख्या भन्दा पनि सेवा कसरी सुचारु भई रहेको छ भन्ने कुरा महत्वपूर्ण भएको बताए । उनले महानगरपालिमा अहिले रहेका दुईवटा दमकलले दमकलले प्रशस्त रुपमा सेवा दिईरहेको दावी गरे ।
प्रवक्ता प्रधानले मर्मत गरेर चालु हालतमा ल्याउन सकिने दमकललाई मर्मतकालागि महानगरको बजेट कम भएका कारण ढिलो भएको स्वीकार्दै उनले चाँडै नै मर्मत गरिने दावी गरे । उनले भने ‘ दमकलको संख्या हेर्ने होइन । अहिले चालु अवस्थामा जुन दमकल छन् त्यसले कसरि काम गरिरहेका छन् त्यो हेर्ने हो । अहिले महानगरपालिकामा २ वटा दमकल छन् ति दमकलले प्रसस्त सेवा दिईँदै आएको छ । अन्य दमकल गर्न बजेट छैन । हामी बिग्रेका दमकल मर्मत गर्ने योजनामै छौँ तर बजेट अन्यन्त थोरै छुटिएको छ । ‘
महानगरले बिग्रिएका मध्ये २ वटा दमकल बन्न सक्ने जनाएपनि तिनको मर्मत खर्चको तथ्याङ निकालेको छैन । वारुणयन्त्र कार्यालयमा १८ जना कर्मचारी कार्यरत छन् । तर नयाँ ऐन र नयाँ प्रविधि बुझेको नेतृत्व गर्ने कर्मचारीको अझै आवश्यकता रहेको छ ।