काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ। उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो।,यो खबर आजको राजधानी दैनिकमा छ ।
खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ। केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ। यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ।
काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ। घट्टेकुलो बस्तै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन्। उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन्। साँझको ४ बजेको थियो। सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन्।
धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन्। उनले भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर। के गर्ने हो।’ उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन्।