एजेन्सी, माघ २५
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता जारी गरेको छ । उसले फेब्रुअरी महिनाका लागि नयाँ वरीयता जारी गरेको हो । फिफा वरीयताको सबैभन्दा शीर्ष स्थानमा बेल्जियम रहेको छ । यता रसिया विश्वकपमा तेस्रो बनेको थियो । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रोमा छ ।
त्यसैगरी, रसिया विश्वकपमा फाइनल खेलेको टोली क्रोएसिया चौथो स्थानमा छ भने इग्ल्यान्ड पाँचौं स्थानमा छ । त्यसपछि पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ ।
नयाँ वरीयताअनुसार नेपाल यसपटक १६१औं स्थानमा छ । नेपाल यसअघि पनि सोही स्थानमा थियो । यता, दक्षिण एसियाली क्षेत्रबाट सबैभन्दा सिरानमा भने भारत छ । भारत फिफा वरीयताको १०३औं स्थानमा छ ।
यता, साफ च्याम्पियनसिप विजेता माल्दिभ्स १५२औं स्थानमा छ । केही समयअघि माल्दिभ्स बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई पन्छाएर फाइनल पुगेको थियो । जहाँ उसले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो ।
दक्षिण एसियाली क्षेत्रबाट भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९९औं र श्रीलंका २००औं स्थानमा छन् ।