बिराटनगर, माघ २६
१८ बर्ष अघि देखि छारे रोगबाट पीडित नवलपरासीका २५ बर्षीय विशाल चापागाँईलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालले अप्रेशन गरेर निको पारेको छ । सामान्यतया छारे रोगीहरुले लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका हुन्छन् । तर, अहिले अप्रेशनको माध्यमबाट पनि छारे रोग निको पार्न थालिएपछि छारे रोगीले नियमित औषधि सेवन गर्नुपर्ने बाध्यता हटेको छ ।
नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.आईप चेरियन, डा.प्रकाश काफ्ले लगायत चिकित्सकहरुको टोलीले अप्रेशन गरेर बरदाघाट–४ नवलपरासीका चापागाँईको छारे रोग निको पारेपछि उनको परिवारमा अहिले खुशीयाली छाएको छ ।
छोराको अप्रेशन सफल भएर निको भएपछि आमा वासना चापागाँईका आँखामा हर्षका आँसु छचल्किए । । विशाललाई उपचारका लागि नेपाल र भारतका करिव १५ वटा अस्पताल पुर्याइयो । अस्पतालको उपचार मात्र नभएर जडिबुटी र धामिझाँक्रीको भरमा पर्दा पनि रोग जस्ताको तस्तै रहेपछि उनीहरु आजित भईसकेका थिए ।
नोबेल अस्पतालमा भेटिएका विशालका बुवा रुद्रप्रसादले विगतको पीडा सुनाउँदै भने ‘छोरालाई निको पार्न हदसम्म उपाय गरियो, जसले जे भन्छ त्यही गर्दै जादा ३० लाख भन्दा बढी खर्च भयो । तर, धन्न नोबेलमा आईपुगेर छोरा ठीक भयो ।’ अन्त केही सिप नलागेर अन्तिममा नोबेल अस्पताल ल्याईएका विशाललाई नोबेलमा अप्रेशनको माध्यमबाट निको पारिएको हो ।
अप्रेशनको माध्यमबाट छारे रोग निर्मुल पार्न थालिएकाले अब नियमित औषधि सेवन गरी रोग पालेर नबस्न छारे रोगीहरुलाई नोबेल अस्पतालका न्यूरो सर्जन डा.प्रकाश काफ्लेको सुझाव छ । दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको नोबेलले अत्यन्तै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।