विराटनगर,माघ २६
प्रदेश नम्वर १ ले हरित अभियान घोषणा गरेको छ । प्राचीन हरिद्धारका रुपमा रहेको चतराधाममा शनिवार सुरु भएको श्रीराम तारकब्रह्म महायज्ञको समुद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा हरित अभियान सुरु भएको घोषणा गरेका हुन् । मुख्यमन्त्री राईले आत्मनिर्भर अर्थतन्त्रको लागि एक व्यक्ति एक वृक्ष अनिवार्य गर्ने गरी हरित अभियानको घोषणा गरे ।
अभियानलाई सफल बनाउन प्रदेश सरकारले जगतगुरु श्रीरामानन्दचार्य सेवा पिठसंग सहकार्य गर्ने मुख्यमन्त्री राईले वताए । राईले सवै पक्षको विकास र विस्तारको दृष्टिकोण प्रदेश नम्वर १लाई समृद्ध प्रदेश निर्माण गर्ने अभियान प्रारम्भ भएको बताए । उनले तारकबह्म महायज्ञको सफल अयोजनाबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन मात्र नभएर विश्व शान्ति र मानव एकताको क्षेत्रमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिन सके मुलुकको समृद्धि र विकास अभियानले प्राथमिकता पाउन सक्ने धारणा व्यक्त गरिन्। प्राकृतिक सम्पदाका रुपमा अत्यन्त धनी देशका रुपमा रहेको नेपालको समृद्धिका लागि धार्मिक र पर्यटन प्रवद्र्धनका साथै प्राकृतिक सम्पदाहरुको सन्तुलित उपयोगलाई प्राथमिकता दिनु पर्ने राष्ट्रपति भण्डारीको भनाई छ ।

नेपालको इतिहासमै पहिलो पटक एक हजार दुई सय साधकहरुको प्रत्यक्ष सहभागितामा सम्पन्न हुने महायज्ञको समुद्घाटन समारोहमा उनले प्रकृति र पर्यावरणको संरक्षण र संवद्र्धनमा सवै पक्षको ध्यान जानु पर्ने स्पष्ट पारिन् । आगामी फागुन ७ गते सम्म सञ्चालन हुने महायज्ञको समुद्घाटन समारोहमा प्रदेश नम्वर १ का प्रमुख प्रा .डा. गोविन्दबहादुर तुम्वाहाङ, प्रदेश सरकारका मन्त्रीहरु ,प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुका साथै नेपाल र भारतका विभिन्न क्षेत्रका सन्त महन्त तथा हिन्दु धर्म गुरुहरुको उपस्थिती रहेको छ ।

हरित अभियान घोषणासंगै सो समारोहमा उपस्थित राष्ट्रपति भण्डारी लगायत हिन्दु भक्तजन तथा सर्वसाधरणहरुलाई वहुउपयोगि चन्दनको विरुवा समेत वितरण गरिएको थियो । नेपालको इतिहासमै पहिलोपटक १२ सय साधनहरुद्वारा तारकब्रम्ह मन्त्रराजको १ अर्ब ६० करोड जपसमेत गरिनेछ । १६ करोड हवनसमेत गरिने छ । नौ तले मण्डवभित्र १ सय ८ वटा हवनकुण्डसमेत निर्माण गरिएको छ ।
३५ हजार किलो जौ, १५ हजार किलो जडीबुटी, १० हजार किलो शुद्ध गाईको घ्यू, १० हजार किलो चिनी, ६० हजार किलो तिललगायत हवन गरिनेछ । मण्डवभित्रै ९ प्रकारका हवनवेदी निर्माण गरिएको छ । महायज्ञमा आउने भक्तजनका लागि लागि साढे ८ करोडको लागतमा १३२ कोठे तीनवटा भवन निर्माण गरिएको छ ।
