आदर्श विद्यालयले यसरी मनायो ९० औँ वार्षिक उत्सव (फोटो फिचरसहित)

आदर्श विद्यालयले यसरी मनायो ९० औँ वार्षिक उत्सव (फोटो फिचरसहित)

विराटनगर, माघ २८
विराटनगर स्थित आदर्श माध्यामिक विद्यालयले आफ्नो ९० औँ वार्षिक उत्सव तथा अभिभावक भेला भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौँको दरबार हाईस्कुल पछि मुलुककै दोस्रो ठूलो विद्यालयको रुपमा स्थापना भएको आर्दश विद्यालयले सोमबार भव्य कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।

वि. सं १९८६ सालमा राणाशासनविरुद्ध आन्दोलन थालनी गर्ने स्वर्गीय कृष्णप्रसाद कोइरालाद्धारा स्थापित यस विद्यालयमा पूर्वप्रधानमन्त्रीहरु : गिरिजाप्रसाद कोईराला, सुर्यवहादुर थापा,मनमोहन अधिकारी, नगेन्द्रप्रसाद रिजाल तथा अन्य विशिष्ट ब्यक्तिहरुले अध्ययन गरेका थिए । १ बिघा १७ कठ्ठा ३ धुर जग्गामा फैलिएको यो विद्यालयलाई स्व.सुर्यनारायण श्रेष्ठ र स्व. रामलाल गोल्छाले जग्गा प्रदान गरेका थिए ।

वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य तुलसी दुलालले विद्यालय जति पूरानो भयो उति जवान हुँदै गईरहेको बताए । विद्यालयमा हाल १ हजार ९ सय ३७ विद्यार्थीहरु अध्ययनरत रहेको तथा ८९ जना शिक्षक तथा कर्मचारीहरु रहेको प्राचार्य दुलालले जानकारी दिए ।

वार्षिक उत्सवमा सहभागि प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङले विद्यालय सफल रुपमा निरन्तर अगाडि बढ्दै जाओस् भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीम पराजुलीले महानगरले पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउन प्रतिविद्यालय ५० लाख रुपैँया विनियोजन गरेको जानकारी दिँदै प्राविधिक शिक्षामा जोड दिएर आदर्श मावि अगाडि बढ्ने बताए ।

 

उल्लेख्य रुपमा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कलात्मक तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए भने विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरिएको थियो । त्यस्तै विद्यालय परिसर भित्र प्रदेश प्रमुखले वृक्षारोपण गरेका थिए भने रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

वार्षिक उत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति, संघ संस्था, शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यम तथा कक्षा ५ देखि १२ सम्म नेपाली माध्यममा पढाई भईरहेको छ । त्यस्तै प्राविधिक विधातर्फ ऐच्छिक कम्प्युटर, तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (डीकम), डिप्लोमा इन सिभिल इन्जिनियरिङ, १८ महिने प्राविधिक एसएलसीको पढाई भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.