काठमाडौं,माघ २८
धरानमा जारी बुढासुब्बा गोल्डकप अन्तर्गत नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।धरान रंगशालामा आज भएको खेलमा पोखराको साहारा क्लबलाई सडन डेथमा ४–३ ले पराजित गर्दै नेपाल पुलिस सेमिफाईनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको ३३ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । रवी पासवानले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासलाई निरकुमार राईले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ८४ औं मिनेटमा साहाराले बराबरी गोल फर्कायो । पुलिसका अजित भण्डारीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा विश्व अधिकारीले गोल गरे । टाइब्रेकरमा दुवै टोलीले २–२ प्रहार चुकाउँदा सडन डेथमा पुलिसले जित हासिल गरेको हो ।
टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, देवेन्द्र तामाङ र सुमन सुवेदीले गोल गर्दा तेज तामाङ र हरि कठायतको अन्तिम दुई प्रहार चुकेको थियो । साहाराका गोविन्द थापाले पहिलो प्रहार चुकाउँदा विश्व अधिकारी, विनोद गुरुङ र कुलदिप कार्कीले गोल फर्काए ।
अन्तिम प्रहारमा रमेश मगर चुकेपछि खेल सडन डेथमा धकेलियो । पुलिसका भरत शाहले गोल गरेपछि साहाराका अन्जन देवकोटा चुक्दा पुलिस विजयी भएको थियो ।
खेलमा पुलिसका मिडफिल्डर निरकुमार राई म्यान अफ द म्याच भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।