काठमाडौँ, माघ २९
हिरो गोल्डकपको दोस्रो खेलमा नेपाली महिला टिमले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा सोमबार भएको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले पराजित गरेको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको यो पहिलो जित हो ।
सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको थियो । खेलको पाँचौँ मिनेटमा नेपालले अग्रता लिएको थियो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिंदै गोल भयो ।
फेरी सातौँ मिनेटमा मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरिन् ।
भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरिन् । नेपालले यस जितसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । नेपाल पहिलो खेलमा म्यानमारविरुद्ध ३–० ले पराजित नेपाल भएको थियो ।
भारतले पहिलो खेलमा इरानलाई १–० ले पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएपछि अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ ।
अंक तालिकाको शीर्ष स्थानमा म्यानमार रहेको छ । म्यानमारको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपाललाई ३–० ले पराजित गरेको म्यानमारले सोमबारको पहिलो खेलमा इरानलाई २–० ले पराजित गरेको थियो ।
नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।