काठमाडौंको कमलादीमा बन्ने सिसा टावरको काम अघि बढ्यो, यस्तो बन्नेछ टावर (भिडियो)

काठमाडौंको कमलादीमा बन्ने सिसा टावरको काम अघि बढ्यो, यस्तो बन्नेछ टावर (भिडियो)

काठमाडौं ,माघ २९

काठमाडौंको कमलादीमा बन्ने सिसा टावरको काम अघि बढेको छ । नेपालमा पहिलो पटक बन्न लागेको सिसा टावरलाई उपत्यका विकास प्राधिकरणले स्वीकृति दिएको हो । १०० मिटर अग्लो हुने टावरलाई सोमबारको बैठकबाटै स्वीकृति दिएको आयुक्त भाइकाजी तिवारीले बताए ।

‘हाम्रो भवन निर्माण आचार सहिता अनुसार नै टावरको मापदण्ड भएकोले स्वीकृती दिएका हौं’, आयुक्त तिवारीले विकासन्युसँग भने । वन्डर्स नेपाल प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको टावरको अन्तिम स्वीकृतको लागि हवाई विभागमा आवेदन दिइएको छ । हवाई विभागले पनि १५ दिनभित्र स्वीकृति पाउने लिमिटेडका एक सदस्य सञ्जिव रोकाले बताए । विभागले हवाइ लाइटलाई असर गर्छ गर्दैन भनेर अध्ययन गर्नेछ ।

रोकाका अनुसार टावर निर्माण गर्नका लागि कम्पनीले ठेकेदार कम्पनी खोजी भैरहेको छ । टावर बनाउनका लागि इटालियन, चिनियाँ जर्मनी, बेलायती कम्पनीहरुसँग कम्पनीले छलफल गरिरहेको छ । ‘हामीले गरेका अध्ययनमा चिनियाँ कम्पनी सस्तो र प्राविधिक रुपमा अब्बल रहेकोले चिनियाँ कम्पनीलाई नै काम दिने तयारी भै रहेको छ’- सदस्य रोकाले भने, ‘तिन वर्षभित्र टावर बनाइ सक्ने छौं ।’

यस्तो बन्नेछ टावर

१०० मिटर अग्लो टावरमा एकै पटक ५०० जनाले छतबाट उपत्यका अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । निजी लगानीमा राजधानीको कमलादीमा २ अर्ब लागतमा करिब २५ तल्ला बराबरको सिसाको स्काईवाल्क टावर निर्माण हुने हुनेछ । टावर निर्माणका लागि लिमिटेडले सरकारसंग कमलादीको १३.२ रोपनी २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ ।

टावर दक्षिण एशियामै पहिलो पटक निर्माण हुने कम्पनीले दाबी गरेको छ । टावरमा अध्यक्ष आकर्षण पोखरेल लगायत विभिन्न देशमा रहेका नेपालीहरुको लगानी रहनेछ । सिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ ।

कम्पनीले टावर निर्माणका लागि ३ वर्ष अघिदेखि विभिन्न १० स्थानमा अध्ययन गर्दै आएको थियो । राष्ट्रकै गौरवशाली योजनामध्येको एक योजनामा सम्पुर्ण विकास प्रेमी नेपालीहरुलाई यो योजना निर्माण पश्चात सगरमाथा र बुद्धको स्काईवाल्क टावरले पनि नेपालको परिचय थप फराकिलो बनाउने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।

पोखरेलका अनुसार टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन् । टावरको माथिल्लो भागमा ३ मिटर बाक्ले सिसा प्रयोग हुनेछ । सिसाको टावरमा पार्किङ, हेल्थ क्लव, रेष्टुरेण्ट, स्वीमिङ पूल, एयर रेष्टुरेन्ट, पसल र एयर क्वल सञ्चालन हुनेछ । (विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.