एजेन्सी, फागुन २
भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा इरानलाई ३–० ले पराजित गर्दै नेपाल फाईनलमा प्रवेश गरेको छ ।
पछिल्लो महत्वपूर्ण खेलमा म्यानमारले भारलाई २–० ले पराजित गरेपछि नेपालले इरानसँग पनि सहज जित निकाल्दै शुक्रबार हुने फाइनलमा स्थान बनाएको हो ।
भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भएको जित्नै पर्ने खेलमा फिफा वरियताको १०६ औं स्थानको नेपाली महिला टोलीले ६० औं वरियताको बलियो टोली इरानलाई ३–० ले हराएको हो ।
नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले गरिन् । नेपालको जितमा थप दुई गोल स्ट्राइकर साबित्रा भण्डारीले गरिन् । उनले खेलको दोस्रो हाफमा दुवै गोल गरिन् ।खेलको ५९ औँ र ८९ औं मिनेटमा साबित्राले गोल गर्न सफल भइन् ।
हिरो कपमा साबित्राले चार गोल गरिसकेकी छन् । सावित्राले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध पनि दुई गोल गरेकी थिइन् । आफ्नो पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । नेपालले त्यसयताका दुवै खेलमा जित निकालेको छ।