विराटनगर, फागुन २
निजी तथा आवासीय विद्यालयहरुको संगठन एन प्याब्सन मोरङले आयोजना गरेको जिल्ला स्तरीय स्पोर्टस मिट २०७५ आजबाट सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं ११ मा रहेको लक्ष्मी खेलमैदानमा संचालन भैरहेको दुईदिने प्रतियोगिताको एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि कार्कीले खेलकुदले मानिसलाई स्वास्थ्य मात्र नवनाएर अनुशासित पनि वनाउने बताए । खेलकुद मार्फत नाम र दाम दुवै कमाउन सक्ने वताउदै उनले प्रतियोगितामा भागलिने सबैलाई सफलताको शुभकामना समेत दिएका थिए । फागुन २ र ३ गते दुईदिनसम्म चल्ने प्रतियोगितामा भलिवल, कवर्डी तथा एथलेटिक्सका गरि ८२ वटा खेलहरु खेलाईने छन् ।
प्रतियोगितामा जिल्लाभरिका एन प्याब्सनमा आवद्ध ५० वटा विद्यालयका २ हजार जति विद्यार्थीहरुले सहभागिता जनाईरहेका छन् । पहिलो दिन छात्र तथा छात्रा भलिवल, कवडी लगायत एथलेटिक्सतर्फ अधिकांश खेलहरु खेलाईए पनि कवडीतर्फका पहिलो चरणका खेलहरु मात्र सम्पन्न भएको एनप्याब्सन मोरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।