धरान, फागुन २
धरानमा जारी २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आयोजक धरान फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा बिहीबार भएको सेमिफाइनलमा धरानले सिएमजी संकटा क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
पेनाल्टी शुटआउटमा धरानका वर्तमान राई, मिलन राई, योगेश राई र दोर्जे तामाङले गोल गरेका थिए भने हेमन्त थापा मगरले गोल गर्न चुकेका थिए ।संकटाका लागि अमित तामाङ, दिपेश आले मगर र लक्ष्मण रुचालले गोल गरे भने सरोज दाहाला र सेडरिक आवा गोल गर्न चुकेका थिए ।
खेलमा धरानका गोलरक्षक बिनय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको दोस्रो सेमिफाईनल शुक्रबार नेपाल पुलिस क्लब र दाफिन्स एफसी क्यामरुनबीच हुनछ ।