एजेन्सी, फाल्गुन ३
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स बिग व्यास लिग क्रिकेटको उपाधिनजिक पुगेको छ । आज स्थानीय बेलिराइभ ओभल स्टेडियममा भएको सेमिफाइनल खेलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले निराश पार्दै मेलबर्न फाइनल प्रवेश गरेको हो ।
जित निकाल्नेक्रममा मेलबर्नले १५४ रनको मध्यम स्कोर पछ्याएको थियो । जसमा उसले १८.५ ओभरमा मात्रै ४ विकेटको क्षतिमा जितको विन्दु भेट्टायो ।
मेलबर्नलाई जिताउन कप्तान ग्लेन म्याक्श्वेलले ४३ रनको योगदान दिँदा सेब गोट्चले ३३ रन जोडे । त्यसैगरी, पिटर ह्यान्डस्कोम्बले ३५ रन बनाउँदा मार्कुस स्टोइनिस र निक मेडिन्सनले समान १८–१८ रनको योगदान दिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको हुरिकेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोडेको थियो । उसका लागि बेन म्याकडर्मोटले ५३ रनको अर्धशतकीयक पारी खेल्दा जर्ज बेलीले ३७ रनको योगदान दिए ।
आजको खेलमा बलिङतर्फ भने ड्यानियल वोरल एक्लैले ४ विकेट झारे । यस खेलमा नेपालका सन्दीप भने विकेटविहीन बने । ४ ओभर बलिङ गरेका उनले ३१ रन दिए पनि विकेट पनि झार्न सकेनन् ।
मेलबर्नले अब प्रतियोगिताको उपाधिका लागि मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँग भिडन्तबाट आउने विजेता टोलीसँग भिड्नेछ ।