एजेन्सी, फाल्गुन ३
भारतमा जारी हिरो गोल्डकप फुटबलमा आज उपाधिका लागि नेपाल र म्यानमार भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल भिडन्त नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ ।
समूह चरणका तीनमध्ये दुई खेल जितेको नेपाललाई प्रतियोगिताको दाबेदार टिम मानिएको छ । नेपाल उपविजेता बनेर फाइनल प्रवेश गरेको हो ।
नेपालले खेलेका तीन खेलमा पहिलो खेल म्यानमारसँग ३–० ले हारेको थियो । त्यसपछि दोस्रो खेलमा उसले भारतलाई २–१ ले हराउँदा इरानलाई अन्तिम खेलमा ३–० ले हराएर फाइनल प्रवेश गरेको हो ।
समूह चरणमा आफूलाई ३–० को फराकिलो अन्तरले हराएको म्यानमारविरुद्ध आज फाइनल भिडन्तमा उत्रिँदा नेपाल दबाबमा हुनेछ । किनभने, जारी प्रतियोगितामा म्यानमार उत्कृष्ट लयमा छ ।
समूह विजेता बनेर फाइनल पुगेको म्यानमारले आफूले खेलेका तीनवटै खेल जितेको थियो । उसले पहिलो खेलमा नेपाललाई ३–० ले पन्छाउँदा दोस्रो खेलमा इरानलाई २–० ले हरायो भने तेस्रो खेलमा पनि भारतलाई २–० ले नै हराएको थियो ।