एजेन्सी, फागुन १३
यस वर्षको ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित यस चलचित्रले बाजी मारेको हो ।
ग्रीन बुकले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार जित्यो । यस चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते । यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रह्यो ।
सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’ बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका थिए । सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् ।
उनी पनि पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेकी थिइन् । उनले चारपटक ब्रिटिस एकेडेमी अफ फिल्म अवार्ड जितिसकेकी छन् । यसैगरी अल्फोन्सो कुआरोन सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते ।
चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् । यसैगरी सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ ।