उदयपुर, पुस २४
सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालाको परिसरमा सञ्चालन भइरहेको १ नं प्रदेशको पूर्वाञ्चालस्तरीय महोत्सवको चारदिनमा झण्डै रु १५ लाख बराबरको कारोबार भएको छ ।
नेपाल साना घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा हालसम्ममा सबैभन्दा बढी स्थानीयस्तरमा उत्पादित विभिन्न खाद्य वस्तु, होटल र स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु बढी बिक्री भएको संघका जिल्ला उपाध्यक्ष रुद्र श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा सोलुखुम्बु र ओखलढुंगामा उत्पादन गरिएका राडीपाखीदेखि ताप्लेजुङ तथा संखुवासभामा उत्पादन गरिएको चौँरीगाईको छुर्पीसम्म बिक्री भइरहेको छ । भोजपुरमा उत्पादित खुकुरीदेखि खोटाङको उत्तरी भेग र सोलुको पूर्वी भेगमा उत्पादन गरिएको नाङ्लो र डालोसम्म बिक्री भइरहेको छ ।
हस्तकलाका सामान, वन तथा पशु र कृषिमा आधारित वस्तुसमेत प्रदर्शनीमा राखिएको छ । पुस २१ गतेदेखि शुरु भएको सो महोत्सव पुस २९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक दुई हजारभन्दा बढी दर्शक आउने गरेका छन् ।
रासस