काठमाडौं, फागुन १४
सरकाले ३८ हजार ८ सय १७ कर्मचारीको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । संघमा २८ हजार २५, प्रदेशमा ४ हजार ८ सय ४६ र स्थानीय तहमा ५ हजार ८ सय ३५ रहेका छन् ।
त्यस्तै ४ हजार ७ सय ९३ शाखा अधिकृतको समायोजन गरिएको छ । संघमा ३ हजार ६ सय ४२, प्रदेशमा ५ सय ९३ र स्थानीय तहमा ५ सय ५८ रहेका छन् । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ ।
समायोजन रोजेका उपसचिवलाई सरकारले मंगलबार पत्र दिने भएको छ । समायोजन रोजेका १ हजार ७ सय ५५ उपसचिवलाई समायोजनको पत्र दिइन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार संघमा १ हजार ५ सय १३, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा पाँच रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने हुन्छ ।
