इन्डोनेसिया : इन्डोनेसियामा गएराति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी गराएका छन ।अत्यधिक बर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको जनाइएको छ । प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरु १८ जना सामान्य घाइते भएका छन ।
स्थानीय समयानुसार बेलुका छ बजे बाढी आएको थियो । घटनामा दर्जनौ अझै पनि बेपत्ता रहेको तथा बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन । बाढीले दर्जनौ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको छ ।
प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।