विराटनगर, चैत ९
शान्तिमार्ग टोल संगठनको आयोजनामा विराटनगर– १० तीनटोलियामा सरसफाई गरिएको छ । टोल संगठनका पदाधिकारी, स्थानीय र सरसफाई अभियान्ताहरुको सहभागितामा विराटनगर–१० स्थित आदित्य चौक देखि शान्तिचौकसम्मको शान्तिमार्गमा सडक र सडकको पेटी सरसफाई गरिएको हो ।
सरसफाईमा सहभागीहरुले सडकमा झाडु लगाउनुसाथै सडक र सडकको पेटीको फोहोर संकलन गरेका थिए । शान्तिमार्ग टोल संगठनकी अध्यक्ष तारा निरौलाले सरसफाई अभियानलाई वडाभरी नियमित गर्ने गरी आजबाट सुरु गरिएको र अब हरेक शनिबार सरसफाई अभियान चलाईने जानकारी दिईन् ।
सरसफाई अभियानलाई विराटनगर– १० वडा कार्यालयले समायोजन गरेको थियो । सरसफाई सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गरिएको यो सरसफाई कार्यक्रम वडामा निर्माण गरिएका सबै सडकहरुमा चलाईने विराटनगर– १० का वडाअध्यक्ष माधवराज वाग्लेले जानकारी दिए ।उनले वडा कार्यालयले सरसफाईका २ जना सफाई कर्मचारी र केही सरसफाईका सामाग्री उपलब्ध गराएको बताए ।
त्यस्तै टोल संगठनका सदस्य मुकुन्द दाहालले आफ्नो टोल आफैँ बनाउन, सफासुग्घर राख्न जनचेतना फैलाउने उद्देश्यले सरसफाई कार्यक्रमको थालनी गरेको बताए ।सरसफाइ कार्यक्रममा सरसफाई अभियान चलाईरहेका वेष्ट म्यानेजमेन्ट ग्रुप, पाईला परिवर्तनका लागि लगायतका संस्थाको पनि सहभागिता रहेको थियो ।