विराटनगर, चैत १०
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताको मुहारमा खुशी झल्कनेगरी विकास निर्माणका योजना अघि बढाईने बताएका छन् । प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा आइतबारदेखि शुरु भएको आर्थिक वर्ष २०७५/७६ को दोश्रो चौमासिक प्रगति समिक्षा वैठकलाई संवोधन गदै उनले जनतालाई केन्द्र विन्दु मानेर प्रतिफल आउनेगरी विकास निर्माणका योजना वनाउनुपर्नेमा जोड दिएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी समेत समाल्हेका मुख्यमन्त्री राईले विगतमा वनेका कतिपय योजना कागजमा मात्र सिमित हुने गरेकाले समयमा काम सम्पन्न हुने र त्यसको प्रतिफल जनताले पाउने खालको योजना वनाउनु आवश्यक रहेको बताए । उनले प्रदेशमा भईरहेको विकास निर्माणकालागि प्रदेश सरकारले अधिकार सम्पन्न अनुुगमन समिति गठन गर्न लागेको समेत बताए ।
मुख्यमन्त्री राईले सो समितिले विकास निर्माणका योजनाहरुको सुक्ष्म रुपमा अनुगमनगर्ने उल्लेख गरे । उनले प्रदेश सरकारले जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका विषयमा कुनैपनि ढिलासुस्ती हुन नदिने बताए । प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका विकास निर्माणमा नतिजा आउनेगरी काम गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव सागरकुमार राईले, मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुुदा चाहे जस्तोगरी कामले गति लिन नसकेको बताए । दुई दिनसम्म चल्ने वैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इन्जिनियरहरुको सहभागिता छ ।