विराटनगर , चैत १४
मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप भएको छ । दुई विद्यार्थीसंघबीच बुधबार दोहोरो ढुंगामुडा हुँदा नेविसंघका चार जना विद्यार्थी नेता घाइते भएका छन् ।
झडपमा नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका हुन् । फागुन २० गतेदेखि क्याम्पसका प्राध्यापकले अन्यत्र पनि पठन पाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै नेविसंघले गरेको आन्दोलनमा विवाद हुँदा दुई विद्यार्थीसंघबीच झडप भएको हो ।
प्रहरी टोलीले क्याम्पस प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।