काठमाडौं, चैत १५
फिफा वरियतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले स्थान सुधार गरेको छ । यसअघि १ सय ८ स्थानमा रहेको नेपाल फिफा बरियतामा ५ स्थान उक्लदै १ सय ३ स्थानमा आइपुगेको हो ।
नेपाली टोलीले पछिल्लो समय लगातार खेल्दै बरियतामा माथि उक्लिएको हो ।पछिल्लो दुई महिनामा नेपाल साफ च्याम्पियनसिप र हिरो गोल्डकपको उपविजेता बनेको छ । अब नेपाली टोलीले अर्को सातादेखि सुरु हुने ओलम्पिक छनोटको दोस्रो चरणमा भारत, म्यानमार र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै साफमा विजेता बनेको भारत १ स्थान तल झर्दै ६३ औं स्थान पुगेको छ । म्यानमार ४४ औं स्थानमा यथावत रहँदा इन्डोनेसिया २ स्थान तल झर्दै ८६ स्थानमा आइपुगेको छ । दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत र नेपालपछि बंगलादेश १ सय २७, श्रीलंका १ सय ३४, माल्दिभ्स १ सय ३६ र भुटान १ सय ५० स्थानमा रहेका छन् । पाकिस्तान भने पछिल्लो समय महिला फुटबल नखेलेका कारण वरियतामा छैन ।