काठमाडौं ,चैत १९
कारोबार रकमका आधारमा नेपालका १० ठूला कम्पनी कुन कुन हुन सक्छन् ? व्यवसायिक क्षेत्रमा धेरैको चासो हुने गरेको छ ।व्यवसायिक दुनियाँमा टप टेनको प्रतिस्पर्धामा को भित्र छिरे र को बाहिरन बाध्य भए ? धेरै रोचक विषय हुने गर्छ ।
प्रतिस्पर्धाको पहिलो स्थानमा नेपाल आयल निगम लिमिटेड छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेको छ । निगम पहिलो भएको यस पटक मात्र होइन, विगतमा पनि हरेक वर्ष पहिलो थियो । र, कम्तिमा आगामी एक दशकसम्म निगम नै पहिलो रहिरहने छ ।
तर, निगम पहिलो हुनुको अर्थ छैन । किनकी पेट्रोलियम पदार्थको व्यापारमा ऊ एक्लो छ । सरकारले पेट्रोलियम पदार्थको आयात गर्न निगमलाई मात्र लाईसेन्स दिएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने एजपीजी ग्यास लगायत पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ ।
नेपालमा मात्र होइन, पेट्रोलिम पदार्थको बजार विश्वमा नै ठूलो छ । यो व्यवसायमा नाफा र प्रतिष्ठा दुबै छ । विश्वका धनाढ्यहरुको सूचिमा पेट्रोलिम पदार्थको व्यापार गर्नेहरु संख्या धेरै हुने गरेको छ । तर, नेपाली व्यवसायीहरु यो क्षेत्रको व्यापारमा प्रवेश गर्न सकेका छैनन् ।
कारोबार रकमका आधारमा एनसेल प्रालि दोस्रो स्थानमा छ । यस कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा ६४ अर्ब ३९ करोड रुपैयाँ कारोबार गरेको छ । यो कम्पनीले ५ वर्षअघि नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई तेस्रो स्थानमा पार्दै दोस्रो स्थान हासिल गरेको हो ।
एनसेल विदेशी लगानी भएको कम्पनी हो । कानुनी रुपमा २० प्रतिशत लगानी नेपालीको देखिए पनि बास्तविक रुपमा सबै लगानी विदेशीको भएको सरकारी अधिकारीहरु बताउँछन् । एनसेल नेपालमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनी हो । १० करोड चुक्ता पुँजी भएको यस कम्पनीले एक वर्षमा २९ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गरेको देखिन्छ, जुन रकम सरकारलाई कर तिरेपछि लगानीकर्ताले लिन पाउने पैसा हो ।
एनसेलले दोस्रो स्थान अझै धेरै वर्ष सुरक्षित राख्ने देखिन्छ । किनकी तेस्रो स्थानमा रहेको दूरसंचार कम्पनीको कारोबार करिव २७ अर्ब रुपैयाँ कम छ । साथै, एनसेलले व्यापार विस्तार गर्दै लगेको छ भने दूरसंचारको व्यवसायिक यात्रा अधोगतिमा छ ।
आर्थिक वर्ष २०७३/७४ को तुलनामा एनसेलले ५ अर्ब रुपैयाँ कारोबार बढाएको छ । तर, दूरसंचार कम्पनीको कारोबार आर्थिक वर्ष २०७३/७४ तुलनामा २०७४/७५ मा करिव साढे ४ अर्ब रुपैयाँ घटेको छ । टेलिकमले गत वर्ष ३७ अर्ब ६५ करोडको कारोबार गरेको छ ।
नेपाल दूरसंचार कम्पनीले भविष्यामा तेस्रो स्थान पनि गुमाउने सम्भावना बढी देखिन्छ । किनकी यस कम्पनीलाई दुईटा रोग लागेको छ, राजनीतिकरण र भ्रष्टाचार । ९५ प्रतिशत सेयर सरकारको भएको यस कम्पनीको नेतृत्वले राजनीतिक नियुक्ती पाउँछ । क्षमताको आधारमा भन्दा राजनीतिक निकटता भएकोले व्यक्तिले यस कम्पनीको कार्यकारी प्रमुख पद पाउँछ ।
त्यसैको परिणाम हो विदेशी व्यवस्थापन भएको एनसेलले सञ्चार क्षेत्रको बजार हिस्सा बढाउँदै लग्दा सरकारी व्यवस्थापन रहेको दूरसंचार कम्पनीले बजार हिस्सा गुमाउँदै गएको छ, जबकी बजार, सेवा र प्रविधि एउटै हो । निकट भविश्यमा तेस्रो स्थान जगदम्बा स्टील्स प्रालिले लिनसक्छ । जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो स्टील उद्योग हो र हरेक वर्ष उकालो चढिरहेको छ । यस कम्पनीले गत वर्ष ३५ अर्ब ५ करोडको कारोबार गरेर चौथो स्थान हासिल गरेको छ ।
जगदम्बा स्टील्स शंकर ग्रुपले प्रवद्र्धन गरेको कम्पनी हो । आक्रामक रुपमा लगानी विस्तार गरेको ग्रुपका दुई वटा कम्पनी टप टेनमा परेका छन् । ९ औं स्थानमा श्री जगदम्बा इन्टरप्राइजेज प्रालि छ । यस कम्पनीले गत वर्ष १६ अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको छ ।
गत वर्ष ३३ अर्ब ४१ करोड रुपैयाँको कारोबार गरेर पाँचौ स्थानमा रहेको छ सूर्य नेपाल प्रालि । कारोबार रकमका आधारमा पाँचौं नम्बरमा रहेपनि सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी हो यो । यस कम्पनीको मुख्य उत्पादन चुरोट हो भने पछिल्लो समय सलाई, धुपबत्ती पनि उत्पादन गर्दै आएको छ । साथै, यस कम्पनीले तयारी पोसाकको व्यापार गर्छ ।
भ्याट, अन्तशुल्क र आयकर सबै जोडेर सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले बताए । सूर्य नेपाल विदेशी लगानी भएको कम्पनी हो ।
छैटौ नम्बरमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले गत वर्ष २९ अर्ब ९३ करोड रुपैयाँको कारोबार गरेको छ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङ सरकारलाई सबैभन्दा बढी भ्याट बुझाउने कम्पनी हो भने यसको लगानीकर्ता सिद्धार्थ राणा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको तर्फबाट ५ पटक सरकारबाट सम्मानित भएका छन् । राणाको लगानी रहेको अन्य कम्पनीहरु पनि छन् । सबै कम्पनीको कारोबार ५० अर्ब रुपैयाँ भन्दा बढी भएको राणाले एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए ।
सातौ नम्बरमा गोर्खा ब्रुअरी प्रालि छ, जसले गत आर्थिक वर्षमा २३ अर्ब १३ करोड रुपैयाँको कारोबार गरेको छ । वियर उत्पादन गर्ने यस कम्पनीमा विदेशी लगानी छ । यसमा खेतान समूहको थोरै सेयर लगानी छ । आर्थिक संकटमा परेपछि राजेन्द्र खेतानले गोर्खा ब्रुअरीको सेयर बेच्दै आएका छन् ।
बजाज ब्राण्डको मोटरसाईकल बिक्री गर्ने हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गत वर्ष २० अर्ब ८१ करोड कारोबार गरेर ८औं स्थान लिएको छ । शेखर गोल्छाले नेतृत्व गरेको यो कम्पनी पहिलो पटक टप टेनमा उक्लिएको हो । यसले स्पेयर पार्ट, लुब्रिकेन्टको पनि व्यापार गर्दै आएको छ ।
१० औं स्थानमा अग्नी इन्कर्पोरेटेड प्रालि छ । यस कम्पनीले गत वर्ष १६ अर्ब २७ करोड कारोबार गरेको छ । कम्पनीले महिन्द्रा ब्राण्डको कार, जिप, मोटरसाईकल बिक्री वितरण गर्दै आएको छ ।
यसअघि टपटेनमा रहेको भाटभटेनी १२ औं स्थानमा झरेको छ । त्यस्तै यसअघि टप टेनमा रहेको स्याकर ट्रेडिङ कम्पनी १३ औं स्थानमा झरेको छ । जेजीआई डिस्ट्रीव्यूशन प्रालि, लक्ष्मी इन्टर कन्टिनेन्टल र आरती स्ट्राइप टप टेन नजिक पुगेका छन् ।
प्रतिस्पर्धामा रहेका कम्पनीहरुबीच कारोबार रकम अन्तरको अंकले दौडको दुरी छुट्याउँछ । आयल निगम पहिलो र एनसेल दोस्रो अझै धेरै वर्ष रहिरहने देखिन्छ भने तेस्रोदेखि तलको पोजिसनमा प्रतिस्पर्धा नजिक नजिक छ ।
चौधरी ग्रुप, ज्योति ग्रुप, बैद्य ग्रुप, दुगड ग्रुप, पञ्चकन्य ग्रुप लगायत पुराना व्यवसायिक घरानाका कुनै पनि कम्पनी टप टेनमा परेका छैनन् । एनसेल, जगदम्बा, सिप्रदी, अग्नी, भाटभटेनि, लक्ष्मी इन्टरकन्टिनेन्टल, शिवम् सिमेन्ट, राजेश हार्डवेयर जस्ता कम्पनीहरुले पुराना र स्थापित कम्पनीहरुलाई टपेर अगाडि बढिरहेका छन् ।
विश्व बजारमा जस्तै नेपालमा पनि पेट्रोलिमय पदार्थको कारोबार, प्रविधिमा आधारित कारोबार र अटोमोवाईल क्षेत्रमा आधारित कारोबार अगाडि आएका छन् । नेपालमा औद्योगिक क्षेत्र कमजोर भनिए पनि जगदम्बा स्टील्स, सूर्य नेपाल, गोर्खा ब्रुअरी, डावर नेपाल, शिवम् सिमेन्ट, हुलास स्टीलसहितका कम्पनीको कारोबार निकै ठूलो देखिन्छ ।
व्यापारको तुलनामा उद्योगमा कम नाफा भएकोले पछिल्लो समय व्यापारमा लगानीकर्ताहरु आकर्षित भएका छन् । सेवा क्षेत्रमा दुई टेलिकम कम्पनी माथि भएपनि पर्यटन, शिक्षा, स्वास्थ्यका क्षेत्रबाट टपटेनको प्रतिष्पर्धामा कोही पनि छैनन् । वासलात ठूला भए पनि वित्तीय क्षेत्रलाई यसमा समावेश गरिएको छैन ।(विकास न्युजबाट)