इनरुवा, चैत २३
सुनसरीको भोक्राहा–७ मा गोली चल्दा एक स्थानीय र एक प्रहरी घाईते भएका छन् । नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा स्थानीय र प्रहरीबीचको विवादपछि शुक्रबार गोली चल्दा सही चन्द्रकुमार शाक्य र जियाउल मन्सुरी घाईते भएका हुन् ।
चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई नै प्रहार गरेको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए।
प्रहरीले भने हात हालाहालपछि हतियार खोसाखोेसको क्रममा गोली चलेको जनाएको छ । स्थानीयवासीले मापसे गरेका प्रहरीले निहत्थामाथि गोली चलाएको दाबी गरेका छन् ।
हातमा गोली लागेका मन्सुरीको उपचारका लागि बिराटनगर ल्याईएको छ । स्थानीयले घटनालाई प्रहरीको ज्यादतीको आरोप लगाएका छन् । घटना पश्चात स्थानीयवासीले सो क्षेत्रमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन् ।