विराटनगर, चैत २३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले भ्रष्टाचार र अपराध नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । कम्युनिष्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकारले जनताले महसुस गर्ने गरी काम गर्न नसकेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा कोइरालाले देश भ्रष्टाचारमा डुब्दा पनि सरकार सस्ता भाषणबाजी गरेर हिंडिरहेको बताए । उनले ओली सरकारले स्वतन्त्र न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकामाथि कब्जा जमाएको आरोप लगाए । सेनालाई विभाजित गराउने प्रयास ओली सरकारले गरेको उनको भनाई थियो ।
यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले बालिका निर्मला पन्तको हत्या भएको ९ महिना बितिसक्दा समेत हत्यारालाई पत्ता लगाउन नसक्ने सरकारले विकास र समृद्धिका नारा लगाउनु देखावटी भएको बताइन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले देशका हरेक निकायलाई आफ्नो नियन्त्रणमा राखेर सरकारले संघीयतालाई विफल बनाउने प्रयास गरिरहेको बताए ।