पांचथर, चैत्र २४
डिएफसी मोरङले वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६—१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । फिदिम माविको खेल मैदानमा अर्मानले ह्याट्रिकसहित ४ गोल गरेपछि मोरङले फराकिलो जित निकालेको हो । यस्तै मोरङका हेमन्त थापा मगर र संजोक राईले एक एक गोल गरे । ताप्लेजुङका सन्त लिम्बुले एक गोल फर्काए । खेलमा म्यान अफ दि म्याच घोषित भएका अर्मानले पाँच हजार नगद प्राप्त गरे । शनिबार तय भएपनि बर्षाको कारण मिसन युनाइटेड र डिएफसीबीचको खेल आइतबार खेलाईएको थियो ।