विराटनगर, चैत २९
आठौं राष्ट्रिय खेलकुदका लागि विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक मसाल लगिएको छ । आठौं राष्ट्रिय खेलकुदका विभिन्न विधाका खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक रुपमा खेलकुदको उद्घाटन भएको छैन ।
सुदूरपश्चिमाञ्चलको नेपालगञ्जमा वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका लागि पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक मसाल विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।
उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै सबै प्रदेशमा लगिने छ । उक्त ओलम्पिक टर्च पूर्व ओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिए जाने छन् ।
उक्त ओलम्पिक टर्चको प्रज्वलन कार्यक्रमा बोल्दै प्रमुख अतिथि प्रदेश प्रमुख तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिएका थिए । विराटनगरको सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद २०७३ सालमा सम्पन्न भएको थियो ।