राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

५ माघ ७४, शुक्रबार

काठमाडौँ,माघ ५
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज उद्घाटन गरेकी छन् । मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन् ।

Advertisement

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने सो महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति दिनेछन् । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री राजनकुमार केसीले खेलकूदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादनका साथै अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

सीमित स्रोत साधनका बाबजुद पनि सरकारले खेलकूद क्षेत्रको विकासलाई विशेष चासो दिएको उल्लेख गर्दै उनले नेपालमा आयोजना हुने आगामी दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रचुर सम्भावना भए पनि खेलकूद क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउँदै प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरी कला संस्कृतिको संवद्र्धन र खेलकूद क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

Advertisement

खेलाडी राष्ट्रलाई उचाइमा पुर्याउने इमान्दार सिपाही हुन् भन्दै उनले खेलाडीबाट राजनीतिक नेतृत्वले अनुशासन सिक्नुपर्ने बताए ।

नेकपा (एमाले)का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले राष्ट्र र नागरिकलाई एकीकृत गराउन खेलकूद क्षेत्रको अहम् भूमिका हुनुपर्नेमा जोड दिए ।

मदन भण्डारी स्पोर्ट क्लबका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवका बारेमा जानकारी गराउँदै खेलकूदको माध्यमबाट अनुशासित र समुन्नत समाज निर्माणमा योगदान पुगोस् भन्ने हेतुले महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top