काठमाडौं, वैशाख १३
सेयर बजार परिसूचक नेप्से साताभरमा ६० अंकले बढेको छ । आइतबार १२३२.२६ अंकबाट खुलेको बजार बिहीबार कारोबार बन्द हुँदा ५९.८६ अंकले बढेर १२९२.१२ अंकमा पुगेको हो ।
आइतबार ३१.९४, मंगलबार ३.२१, बुधबार १९.१४ र बिहीबार १२.८३ अंकले बढेको हो । सोमबार भने बजार ७.२६ अंकले घटेको थियो । यो साता आइतबार, सोमबार र बिहीबार एक अर्बभन्दा बढीको सेयर कारोबार भयो भने बिहीबार सर्वा्धिक १ अर्ब ३५ करोडको सेयर किनबेच भयो ।
लगातार अर्बभन्दा बढीको कारोबार हुनु र बैंकहरूले बेस रेट घटाउँदै जानुले बजारले उचाइ लिने संकेत गरेको सेयर विश्लेषकहरू बताउँछन् । कम्पनीहरूले वैशाखमा तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने र लगानीकर्ताले सोही विवरणका आधारमा बढी प्रतिफल दिनसक्ने कम्पनी छनोट गरी बजार प्रवेश गर्ने भएकाले चैतपछि बजार बढ्ने गरेको विगतका अध्ययनले पनि देखाउँछ ।
लामो समय बजार बढ्न नसकेको र लगानीकर्ताले हकप्रदको भारी बोक्नु नपरेका कारण पनि बजारमा चमक फर्किनसक्ने उनीहरूको बुझाइ छ । कतिपय कम्पनीको मूल्य ८५ प्रतिशतसम्म ओर्लिएकाले लगानीकर्ताका लागि गोल्डेन अवसर बनेको छ । अन्डर भ्यालुड बजारमा लगानीकर्ताका लागि जोखिम पनि कम हुन्छ । अहिले अधिकांश कम्पनी अन्डर भ्यालुड छन् । वैशाखका ९ दिनमै बजार सय अंकभन्दा धेरैले बढिसकेको छ ।