काठमाडौं, वैशाख १४
हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगले एक साताको अवधिमा आठ जनाको मृत्यु भएको छ । एक दर्जनभन्दा बढी बिरामी छन् । अज्ञात रोग फैलिएपछि शुक्रबारसम्म मर्नेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए । रोगको पहिचान नभएका कारण बिरामीको उचित उपचार हुन नसक्दा रोग फैलिँदै गएको छ । मैला, मदानलगायतका गाउँका सर्वसाधारण बिरामी परेको बताइएको छ ।
टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ । मैला स्वास्थ्य चौकीमा औषधीको पनि अभाव छ । स्वाथ्यकर्मी पनि ग्रामिण भेगमा नभेटिदा उपचारमा समस्या आएको स्थानीयको गुनासो छ ।
मृत्यु हुनेमा मैलाक–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा नं– २ का ५५ वर्षीय रंगे कोली कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं– ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । रोगथामका लागि प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको बताइएको छ । कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको गाउँपालिका अध्यक्ष बागचाल छन्त्याल मल्लले जानकारी दिए ।