वीरगञ्ज, माघ ७
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । २ नं. प्रदेशको राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले यादव विरुद्ध कालो झण्डासहित वीरगञ्ज स्थित घण्टाघर नजिकै प्रदर्शन गरेको हो ।
संघर्ष समितिको हिजो बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।
नेता उपेन्द्र यादव वीरगञ्ज महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटनका लागि वीरगञ्ज आएका हुन् । यादवको विरोधमा नाराबाजी गर्दै घण्टाघरमा प्रदर्शन भएपनि नेता यादव भने अर्काे बाटो हुँदै नगरसभा स्थल पुगेका छन् ।
विरोधमा प्रदर्शन हुने पूर्वसूचना पाएका कारण नेता यादवलाई वीरगञ्जको मुख्य सडकबाट नभई सहायक बाटो हुँदै नगरसभा स्थलमा पुर्याइएको फोरमका नेताहरुले बताएका छन् ।