एजेन्सी, बैशाख २५
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरेपछि सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको दोस्रो खेलमा बेंगलोर युनाइटेडलाई ३–० ले पराजित गरेको छ ।
सेथुले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सावित्राको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले ११ औं मिनेटमा गोल गर्दै लिगमा व्यक्तिगत गोलसंख्या ५ पुर्याइन् । खेलको ४० औं मिनेटमा सन्ध्या रंगनाथनले गोल गर्दै सेथुको अग्रता दोब्बर पारिन् ।
खेलको दोस्रो हाफमा नेपालकै अर्की खेलाडी अनिता बस्नेत पनि मैदान प्रवेश गरेकी थिइन् । उनले ७४ औं मिनेटमा गोल गर्दै सेथुलाई ३(० ले अगाडी बढाइन् । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा सेथु ३–० ले विजयी रहयो ।
लगातार दोस्रो जितसँगै सेथुले अंक तालिकाको शीर्ष स्थानमा पकड बनाएको छ । सेथुले २ खेलमा ६ अंक जोडेको छ । सेथुले अब शुक्रबार हुने खेलमा स्पोट्र्स एकडेमी अफ इन्डिया (एसएआई)को सामना गर्नेछ । (हाम्रो खेलकुद)