नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै उहाँले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बामपक्षीय आधारमा आउने बजेटले समग्ररुपमा मुलुकको विकास गर्न नसक्ने भन्दै उहाँले संसोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले विगतमा जस्तै अहिले पनि राजनीति र दलीय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी गर्नुभयो । विगतमा योजना गए पनि बजेट नपठाउने काम भएको भन्दै राजनीतिबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण नभएसम्म विकास र सम्मृद्धि संभव नभएको तर्क समेत गर्नुभयो । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने सरकारका अगाडि दैनिक भ्रष्टाचारका घटना सार्वजनिक भईरहेको भन्दै उहाँले व्यंग्य गनुृभयो । सरकारले पछिल्लो समय ल्याएको मानवअधिकार आयोग सम्बन्धी विधेयक लगायतका विधेयकहरुमा गरिएको व्यवस्था तथा सूचना प्रविधि नियन्त्रण गर्ने, मिडियालाई नियन्त्रित गर्ने र राष्ट्रिय प्राथमिकताका योजना भनेर सबै खर्च केन्द्रीकृत गर्ने बाटोबाट विदेशी लगानी पनि आउदैन स्वदेशी लगानी पनि नबढ्ने दाबी गर्नुभयो ।