विराटनगर, बैशाख ३०
विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा पनि विविध कार्यक्रमगर्दै सीताको जन्मोत्सव मनाएको छ । परिषदको मोरङ शाखाले सीता नवमीको अवसर पारेर विविध कार्यक्रमगर्दै सीता जन्मोत्सव मनाएको हो ।
विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा भजनकिर्तन,झांकी र प्रवचन लगायतका कार्यक्रम गरिएको छ । देवी सीतालाई शक्तीको अधिष्ठात्री मानिएकाले यसबर्षबाट विराटनगरमा सीता जन्मोत्सव मनाउन थालिएको कार्यक्रम संयोजक प्रतिमा निरौलाले बताइन् ।
कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल मोरङका संरक्षक तथा बरिष्ठ सल्लाहकार आचार्य पण्डित कृष्णप्रसाद गुरागाईले देवी महालक्ष्मीको अवतार भगवती सीता नेपालकी छोरी रहेकी बताउदै राम,कृष्ण र बुद्ध जयन्ति जस्तै भब्यरुपमा मनाइनुपर्ने बताए । सीता जन्मोत्सवको अवसर पारेर आयोजक समितिले भजनकिर्तन प्रतियोगिता समेत गराएको छ । प्रतियोगितामा १ दर्जन बढी समूहको सहभागिता रहेको थियो ।