अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नधम्क्याउन चेतावनी दिएका छन् । उनले अमेरिकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी पनि दिए । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकासँग लड्न तयार भए ‘इरानको आधिकारिक अस्तित्वनै समाप्त हुने’ धम्की दिएका हुन् । अमेरिकाको यो धम्कीपश्चात अमेरिका र इरानबीच युद्धको माहोल देखा पर्न थालेको विश्लेषण गरिएको छ । परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । यो सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । अमेरिकाले गत वर्ष यो सम्झौता तोडेको थियो । इरानले पनि अहिले सम्झौताबाट आंशिक रुपमा अलग भएको जनाएको छ ।