बिराटनगर जेठ ६
तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न थप ३५ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । चालु आर्थिक बर्षदेखि सुनसरी र मोरङ जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३५ सडक आयोजना थप भएका हुन् । दुबै जिल्लाको दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालु आर्थिक वर्षमा नयाँ आयोजना थपिएको सडक डिभिजन कार्यालय बिराटनगरले जनाएको छ । गतवर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो ।चालु आर्थिक वर्षदेखि त्यहि आयोजनालाई तराई–मधेश विशेष पूर्वाधार सडक कार्यक्रम अन्तर्गत राखिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुमराज न्यौपानेले जानकारी दिए । तराई–मधेशका दक्षिणी क्षेत्रलाई राष्ट्रिय राजमार्गसंगको पँहुचमा जोडने सरकारी योजना छ, डिभिजन प्रमुख न्यौपानेले भने‘बहुवर्षिय योजना अन्तर्गत दक्षिणी इलाकालाई उत्तरमा रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने लक्ष्य छ’ । उनले नयाँ अवधारणामा राखेर एकै पटक दक्षिणी क्षेत्रका स्थानीय तहमा सडक डिभिजन कार्यालयले आयोजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए । चालु आर्थिक बर्षमा नयाँ कार्यक्रम आन्तर्गत दुई जिल्लाका दक्षिणी इलाकालाई राष्ट्रिय राजमार्गसँग जोड्न ३५ आयोजना थपिएका हुन् । ती आयोजनाको ठेक्का भएर मुल्याकंनपछि सम्झौताको चरणमा रहेको सडक डिभिजन कार्यालयले जनाएका छ । थप भएका सडक आयोजना अन्तर्गत कालोपत्रे, नाला, ढल तथा कल्भर्ट निर्माण छन् । चालु आर्थिक वर्षमा मोरङमा ३१ सडक आयोजना एकै पटक सञ्चालनमा रहेछन् । सुनसरीमा चारवटा सडक निर्माण हुनेछन् । यी सबै आयोजना समेत बहुवर्षिय योजना अन्तर्गत राखिएको छ । चालु आर्थिकवर्षमा सबै आयोजनाका लागि एक÷एक करोड रुपिँया बिनियोजन भएको इन्जिनियर झाले जानकारी दिए । निर्माणाधिन र निर्माणको चरण सुरु गरेका सडकले भारतको सीमासम्मका नेपाली वस्तीलाई मुख्यराजमार्गसँग जोड्ने छन् । बहुवर्षिय योजना अन्तर्गत विस्तार गरिने सडकलाई ९ मिटर चौडाईको बनाईनेछ । सिमा सडकको रुपमा रहेका यी आयोजना निर्माणको काम समयमै सक्ने गरि ठेक्का मुल्यांकन र स्वीकृति प्रदान गर्ने काम गरिदैं आएको छ । सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का आह्वान गरेकामध्ये २६ वटा आयोजनाको सम्झौता भईसकेको छ । गतवर्ष सुरु भएका ९ वटा सडक निर्माणको काम समेत जारि रहेको छ । पुराना ९ सडक आयोजनाको म्याद तीस महिनाको रहेको छ । सडक विस्तार र कालोपत्रे गरिदैं आएको छ ।