राष्ट्रिय सभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी राष्ट्रिय सभाका सांसदहरुले जंगली हात्ति नियन्त्रणका लागि आवश्यक प्रविधिको विकास गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बुधबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद विन्दादेवी आले रानाले २ महिनायता अभाव देखिएको रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनीले तत्काल रासायनिक मलको व्यवस्था नगरे कृषकहरु मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराइन् । सांसद विना पोखरेलले जंगली हात्तिका कारण जनधनको क्षति हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक प्र्रविधिको विकास गर्न सरकारसँग माग गरिन् । उनले जंगली हात्तिले मानिसको समेत ज्यान लिने गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप पनि लगाइन् । सांसद डा. विमला पौडेल राईले सबै स्थानीय तहमा मानसिक अस्पतालको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।