काठमाडौं, माघ १०
राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता आज सात वटै प्रदेशमा भइरहेकाछ । दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन पत्र दर्ता गराउन सक्नेछन् ।
प्रदेश नम्बर १ मा मोरङको विराटनगर, प्रदेश नम्बर २ धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारकोे नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र मनोनयन दर्ताका लागि पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार बिहिबार उम्मेदवारको विरोधमा उजुरी दिने र उक्त उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशन गरी सोही दिन उम्मेदवारी फिर्ताका लागि समय दिइनेछ ।
माघ १५ गते भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख र उपप्रमुख एवम् प्रदेश सभाका सांसद मतदाता रहको राष्ट्रिय सभाको निर्वाचन अगामी माघ २४ गते विहान १० देखि ३ बजेसम्म हुनेछ ।
स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ तथा प्रदेश सभाका ५सय ५० गरी २ हजार ५६ जना मतदाता छन् । निर्वाचन प्रयोजनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।