प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने औपचारिक जानकारी गराए । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको औंपचारिक निमन्त्रणा आएपछि उनको सपथग्रहण समारोहमा सहभागी हुन भारत जान लागेको पनि स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओली आगामी जेठ १६ गते बिहीबार दिउँसो भारत प्रस्थान गर्नेछन् । सोही दिन साँझ हुने भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोलिपल्ट (शुक्रबार)प्रधानमन्त्री मोदीसँग सामान्य भेटवार्ता गरेपछि प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम तय गरिएको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताए । भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु पनि सहभागी हुनेछन् ।
यसैबीच, भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुनरागमन नेपालको लागि हितकर हुने दावी गरे । भारतमा मोदीको पुनरागमन नेपालको हितमा हुने उनको दावी थियो । पूर्व राजदुत सिंहले भारतीय प्रधानमन्त्री मोदीकै कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध राजनीतिक स्तरमा विकास हुन पुगेको पनि स्मरण गराए । पूर्व राजदुत सिंहले मोदीले यस अघि पनि छिमेकसँगको सम्बन्धलाई बढाउने विषयलाई जोड दिएको उल्लेख गर्दै अव पनि त्यसले निरन्तरता पाउने विश्वास पनि व्यक्त गरेका छन् ।